भक्तपुर — दक्षिण कोरियामा EPS मार्फत रोजगारी गरेर नेपाल फर्किएका नेपालीलाई उद्यमशीलतामार्फत स्वदेशमै पुनःस्थापित गराउने उद्देश्यले KOICA को सहयोगमा सञ्चालित ‘रिटर्नी इनोभेटर्स फर नेपाल (RIN) को पाँचदिने एडभान्स्ड इन्टरप्रेन्योरसिप बुटक्याम्प सुरु भएको छ।
भक्तपुरमा अगस्ट १० देखि १४ तारिखसम्म सञ्चालन हुने बुटक्याम्पमा ‘स्टार्ट ट्र्याक’का १४ जना उद्यमशीलता आकांक्षी सहभागी छन्। उनीहरूसँग प्रारम्भिक चरणका व्यवसायिक विचार तथा उद्यम सञ्चालनको तयारी रहेको आयोजकले जनाएको छ।
बुटक्याम्पको मुख्य उद्देश्य सहभागीका व्यवसायिक विचारलाई नेपाली बजार र स्थानीय परिवेशअनुकूल बनाउँदै व्यवहारिक व्यवसायिक योजना तयार गर्न सहयोग गर्नु रहेको छ। यस क्रममा प्रोटोटाइप विकास, प्रयोगकर्ता परीक्षण, बजार अनुसन्धान, समूहगत सिकाइ तथा गहन अभ्यासमार्फत व्यवसायिक अवधारणालाई थप परिष्कृत गरिनेछ।
बुटक्याम्पपछि स्टार्ट ट्र्याकका १४ जनामध्ये १० जना अर्को चरण अर्थात् इन्क्युबेसनका लागि छनोट हुनेछन्। त्यसमा ग्रोथ ट्र्याकका थप १० जना उद्यमीसमेत सहभागी हुनेछन्। तीन महिनाको इन्क्युबेसन अवधिमा सहभागीले व्यवसायिक मेन्टरमार्फत व्यक्तिगत आवश्यकताअनुसार परामर्श तथा सहयोग प्राप्त गर्नेछन्। साथै उत्पादन र बजारबीचको सम्बन्ध परीक्षण, व्यवसाय सुधार तथा स्थानीय व्यवसायी, विज्ञ र लगानीकर्तासँग सम्पर्क विस्तारमा सहयोग गरिनेछ।
कार्यक्रमको अन्तिम चरणमा ‘डेमो डे’ आयोजना हुनेछ। दुवै ट्र्याकबाट पाँच–पाँच जना उद्यमी डेमो डेका लागि छनोट हुनेछन्। उनीहरूले स्वतन्त्र निर्णायक मण्डलसमक्ष आफ्ना व्यवसायिक योजना र अवधारणा प्रस्तुत गर्नेछन्। त्यसमध्ये प्रत्येक ट्र्याकबाट तीन–तीन जना गरी कुल ६ जना उद्यमीलाई नगद पुरस्कार तथा व्यवसाय विस्तारका अन्य अवसर प्रदान गरिनेछ।
कार्यक्रम उद्घाटनका क्रममा द ब्रिज इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत (CEO) जिन्सोल ह्वाङले कोरियाबाट फर्किएका नेपालीले सीप, स्रोत र व्यवसायिक ज्ञान नेपाल भित्र्याएको बताउँदै ती ज्ञान र व्यवसायिक विचारलाई नेपाली परिवेशअनुकूल बनाउन आवश्यक रहेको बताए।
उनले एडभान्स्ड कोर्स र त्यसपछिको इन्क्युबेसन कार्यक्रमले स्थानीय व्यवसायिक वातावरण बुझ्न तथा व्यवसायलाई व्यवहारिक रूपमा अघि बढाउन आवश्यक ज्ञान र मार्गदर्शन उपलब्ध गराउने बताए। विज्ञबाट हुने एक–एकजना व्यवसायिक मेन्टरिङ र स्टार्टअप फेलोको नियमित सहयोगले सहभागीका व्यवसायिक विचारलाई थप व्यवहारिक र सम्भावनायुक्त बनाउन सहयोग पुग्ने उनको भनाइ थियो।
KOICA नेपालकी डेपुटी कन्ट्री डाइरेक्टर सुजिन यियोले सहभागीलाई बुटक्याम्पको अवधिलाई आफ्ना व्यवसायिक विचार परीक्षण र सुधार गर्ने अवसरका रूपमा उपयोग गर्न आग्रह गरिन्। व्यवसायिक योजना केवल प्रशिक्षणका क्रममा बुझाउने कागजात नभई व्यवसाय सञ्चालन र विकासका लागि व्यवहारिक औजारका रूपमा प्रयोग गर्नुपर्ने उनले बताइन्।
उनले उद्यमशीलता ऋण कार्यक्रमलाई केवल वित्तीय स्रोतका रूपमा नहेरी जिम्मेवारीसहित प्रयोग गर्नुपर्नेमा जोड दिइन्।
यस्तै, युवा, श्रम तथा रोजगार मन्त्रालयका सहसचिव हेमराज तामाङले नेपाल सरकारका तर्फबाट सहभागीलाई स्वागत गर्दै उद्यमी बन्ने यात्रा सहज नभए पनि बुटक्याम्पले उनीहरूको जीवनमा नयाँ अध्याय सुरु गर्ने विश्वास व्यक्त गरे।
नेपालमै रोजगारी तथा जीविकोपार्जनका अवसर सिर्जना गर्ने उद्देश्यमा मन्त्रालय केन्द्रित रहेको उल्लेख गर्दै उनले कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सहभागीका सुझाव र अनुभव महत्वपूर्ण हुने बताए।
कृषि विकास बैंक लिमिटेड (ADBL) की विभागीय प्रमुख नीकु आचार्यले कार्यक्रम पाँच दिनको बुटक्याम्पमा मात्र सीमित नभई सहभागीको दीर्घकालीन उद्यमशील यात्रा सहयोग गर्ने कार्यक्रमका रूपमा लिनुपर्ने बताइन्।
कोरियाबाट फर्किएका नेपालीले त्यहाँ हासिल गरेको सीप र अनुभवलाई नेपालमै व्यवसायमा रूपान्तरण गर्न सक्ने उनको भनाइ थियो। बैंकले कार्यक्रमअन्तर्गत आवश्यक मापदण्ड र मूल्यांकनका आधारमा पाँच वर्षसम्म ५ प्रतिशत ब्याज अनुदानसहित औसत ५० लाख रुपैयाँदेखि अधिकतम ५ करोड रुपैयाँसम्म ऋण उपलब्ध गराउने व्यवस्था रहेको जानकारी दिइन्।
सूर्यविनायक नगरपालिकाका आर्थिक विकास समितिका संयोजक तथा वडा नम्बर ८ का अध्यक्ष पुष्पराज बस्नेतले सहभागीलाई स्वागत गर्दै नगरपालिकाले स्थानीय बासिन्दाका साथै वैदेशिक रोजगारीमा जान तयारी गरिरहेकालाई समेत सीप विकासका कार्यक्रम सञ्चालन गर्दै आएको बताए।
RIN कार्यक्रम KOICA को ‘Strengthening Stage-Wise Support System for the Stable Reintegration of Korea Returnee Migrants in Nepal’ परियोजनाअन्तर्गत सञ्चालन भइरहेको हो। कार्यक्रमको कार्यान्वयन द ब्रिज इन्टरनेसनलले गर्दै आएको छ।
बुटक्याम्पको पहिलो दिन सहभागीले आफ्ना व्यवसायिक समस्यामाथि गहन छलफल गर्दै बजार अनुसन्धान सुरु गरेका छन्। आगामी दिनमा उनीहरूले व्यवसायिक अवधारणालाई थप परिष्कृत गर्दै अन्तिम दिनका लागि व्यवसायिक ‘पिच’ तयार गर्नेछन्।
RIN कोहोर्ट–३ को सम्पूर्ण यात्रा आगामी डिसेम्बरमा हुने ग्रान्ड बिजनेस कम्पिटिसन तथा बिजनेस शोकेससँगै सम्पन्न हुनेछ। कार्यक्रममा RIN सहभागी तथा कोरियाबाट फर्किएका अन्य उद्यमीले आफ्ना उत्पादन प्रदर्शन गर्ने अवसरसमेत पाउनेछन्, जसबाट नेटवर्किङ, साझेदारी, बजार विस्तार तथा सम्भावित लगानीका अवसर सिर्जना हुने अपेक्षा गरिएको छ।











