
काठमाडौं । आजदेखि यसबर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा सुरु हुँदैछ । अहिले बिहान ८ बजेदेखि सुरु हुने परीक्षामा देशभरबाट ११ हजार ६१५ विद्यालयका नियमिततर्फ छात्र एक लाख ५७ हजार ९१४ र छात्रा दुई लाख ५७ हजार ५३ जना गरी कूल ५ लाख १४ हजार ९६७ परीक्षार्थी परीक्षामा सहभागी भइरहेको एसइईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए । परीक्षाका लागि देशभर दुई हजार सात परीक्षा केन्द्र निर्धारण गरिएको उनले बताए ।
कोरोना महामारीका कारण शैक्षिकसत्र २०७६ /२०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गरेको थियो । यस वर्ष भने सामान्य स्वास्थ्य मापदण्ड पूरा गर्दै भौतिक उपस्थितिमै सञ्चालन गर्ने गरी तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।








