
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी उपविदेशमन्त्री उज्रा जियाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा उनीहरुबीच नेपाल–अमेरिका सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवाले अमेरिकी प्रतिनिधिमण्डललाई स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गरेका छन्। तिब्बत मामिलाका लागि अमेरिकी विशेष संयोजकसमेत रहेकी उनी तीन दिने नेपाल भ्रमणका क्रममा शुक्रबार नेपाल आएकी थिइन्।
उनले आजै परराष्ट्रमन्त्री नारायण खड्का र गृहमन्त्री बालकृष्ण खाणसँग भेट्ने कार्यक्रम तय छ। भारत भ्रमण सकेर उनी नेपाल आएकी हुन्।
भारतमा जियाले धर्मशालास्थित निवासमा पुगेर निर्वासित तिब्बती धर्म गुरु दलाई लामासँग भेट गरेकी थिइन्। उनले हिजो काठमाडौंस्थित तिब्बती शरणार्थीहरुसँग पनि अन्तरक्रिया गरेकी थिइन्। जिया आज स्वदेश फर्किने कार्यक्रम छ ।










