
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज बिहान राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष कार्यक्रममा उपराष्ट्रपति यादवलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाएका हुन् ।
सत्ता गठबन्धनमध्ये चार दलबाट साझा उम्मेदवारका रुपमा जनता समाजवादी पार्टी (जसपा) बाट उम्मेदवार बनेका यादव यही चैत ३ गते उपराष्ट्रपति पदमा निर्वाचित भएका थिए । यादवले मुख्यप्रतिस्पर्धी एमालेकी अष्टलक्ष्मी शाक्यलाई पराजित गर्दै विजयी भएका थिए ।
निर्वाचनमा सत्ता गठबन्धनबाटै जनमत पार्टीकी ममता झा पनि उम्मेदवार थिइन् । निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन पासाङको कार्यकाल चैत ४ गते सकिने भएपछि नयां उपराष्ट्रपतिका लागि निर्वाचन भएको थियो ।










