विप्लव समुहको अपहरणमा परेका गाँउपालिका अध्यक्षको कालिकोटबाट उद्धार


काठमाडौं। सरकारद्धारा प्रतिबन्धित नेत्र बिक्रम चन्द विप्लव समूहको अपहरणमा परेका दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीको उद्धार गरिएको छ ।

शनिवार मध्यराती आफ्नै घरबाट अपहरणमा परेका उनको ठाँटीकाँध गाउँपालिका –१ स्थित छातीको जंगलबाट आइतबार साँझ उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएके छ ।

अध्यक्ष शाहीलाई विप्लव समूहका कार्यकर्ताले साँझ उक्त जंगलमा ल्याएर छाडेपछि प्रहरीले उद्धार गरेको कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआइजी पूर्णचन्द्र जोशीले बताए ।

अध्यक्ष शाहीलाई अपहरण गरेको आरोपमा प्रहरीले अहिलेसम्म कसैलाई पक्राउ नगरेको बताइएको छ । अपहरण सम्बन्धमा आइतबार विप्लव समूहका भेरी कर्णाली ब्युरो इञ्चार्ज रविले प्रेस विज्ञप्ति जारी गर्दै घटनाको जिम्मेवारी लिएका थिए ।

गाउँपालिकाको रकममा भ्रष्टाचार र विप्लव समूहविरुद्ध सुराकी गरेको आरोपमा उनलाई गिरफ्तार गरिएको विज्ञप्तीमा उल्लेख छ ।
शनिबार मध्यराति विप्लव समुहले अध्यक्ष र उनकी श्रमती ईलालाई अपहरण गरेको थियो । ईलालाई अपहरण गरेको कहि घण्टापछि जंगलमा छोडिएको थियो ।

गाउँपालिकाको बजेट दुरुपयोग गरेको भन्दै विप्लव समुहका कार्यकर्ताले अध्यक्ष शाहीलाई पहिला नै चेतावनी पत्र पठाइसकेको थियो । यसअघि अध्यक्षका भाइ हस्तबहादुर शाहीलाई पनि विप्लवले अपहरण गरेर केही दिनपछि छाडेको थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार