
म्याग्दी । म्याग्दीमा शनिबार दिउँसो धारिलो ढुङ्गा (छपनी)ले हानेर एक वृद्धाको हत्या गरिएको छ । जिल्लाको मालिका गाउँपालिका–७ बिमवाङकी ७० वर्षीया मनिषा गर्बजाको घटनास्थलमै मृत्यु भएको हो ।
घटनामा दुई जना घाइते भएका छन् । घाइते हुनेमा मनिषाकी सात वर्षीया नातिनी प्रियङ्का गर्बुजा र छिमेकी ६६ वर्षीया अमृता जुग्जाली रहेका छन् । घटनास्थलमा पुगेका प्रहरीका अनुसार हत्यामा संलग्न व्यक्तिको पहिचान र खोजी भइरहेको बताइएको छ ।
मनिषालाई छपनी प्रहार गरेको देखेर बचाउन गएका प्रियङ्का र अमृतालाई आक्रमणकारीले चिर्पट प्रहार गरेर घाइते बनाइ भागेका स्थानीयको भनाइ छ ।
घाइते दुवैलाई थप उपचारका लागि दरवाङबाट हेलिकप्टरमा पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
घाइते मध्ये प्रियङ्काको अवस्था गम्भीर रहेको छ । प्रहरीले एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।















