मन्त्रिपरिषद् बैठकमा डीडीसीको उत्पादन प्रवर्द्धनको गर्ने बिशेष छलफल


काठमाडौँ । स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवर्द्धन गर्न सरकारले विशेष अग्रसरता देखाएको छ । मन्त्रिपरिषद्को आजको बैठकमा सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादनहरूको देशव्यापी प्रवद्र्धन तथा बजार विस्तार गर्ने विषयमा गहन छलफल भएको छ ।

कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले मन्त्रिपरिषद् बैठकमा डीडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डालाई मुख्य रूपमा उठाउनुभएको हो । बैठकमा मन्त्री चौधरीले स्वदेशी दुग्ध उत्पादनको संरक्षण, किसानको हित प्रवद्र्धन तथा संस्थानको व्यावसायिक सुदृढीकरणका लागि डीडीसीका उत्पादनहरूको प्रयोग र प्रवद्र्धनलाई प्राथमिकता दिनुपर्ने कुरामा जोड दिनुभयो ।

उहाँले डीडीसीलाई थप प्रतिस्पर्धी, गुणस्तरीय र आत्मनिर्भर संस्थाका रूपमा विकास गर्न सरकारका विभिन्न निकायबिच आपसी समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो । साथै, नेपाली दुग्ध किसानबाट सङ्कलित दूधको उचित व्यवस्थापन र उत्पादनको बजार सुनिश्चित गर्न सरकारी तहबाट आवश्यक सहयोग हुनुपर्नेमा उहाँको विशेष जोड थियो ।

त्यसैक्रममा उहाँले प्रधानमन्त्री वालेन्द्र शाहसहित मन्त्रिपरिषद्का सदस्यहरुलाई डीडीसीका उत्पादनहरुको प्याकेज वितरण गर्नुभएको थियो ।
लामो समयदेखि नेपाली उपभोक्ता माझ शुद्ध र गुणस्तरीय दूध, घिउ, दही, पनिर, चिजलगायतका दुग्धजन्य उत्पादनहरू उपलब्ध गराउँदै आएको डीडीसीको यो अभियानलाई थप ऊर्जा दिने कार्य प्रधानमन्त्री शाहले पनि गर्नुभएको छ । प्रधानमन्त्री शाह आफैँले डीडीसीका उत्पादनहरूको प्रवद्र्धन र प्रचार गरेर स्वदेशी वस्तुको उपभोग बढाउने बलियो सन्देश दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार