प्रहरी प्रमुखले नै भनेः नेपालमा शरणार्थीहरु प्रवेश गर्ने क्रम बढ्यो, सुरक्षामा चुनौती


काठमाडौं । नेपाल प्रहरीका प्रमुख आइजीपी दानबहादुर कार्कीले नेपालमा शरणार्थीहरु प्रवेश गर्ने क्रम बढेर गएको बताएका छन् ।
सिंहदरबारमा आज बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै आइजीपी कार्कीले भारतीय सीमा क्षेत्रबाट पछिल्लो समय रोहिंग्या, पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै अवैध रूपमा नेपाल प्रवेश गर्ने क्रम बढेको बताएका हुन् ।
खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको उनले बताए ।
गृहमन्त्री सुधन गुरुङ समेत सहभागी उक्त बैठकमा सीमावर्ती क्षेत्रको सुरक्षाका सन्दर्भमा शरणार्थीको नेपाल प्रवेशले सुरक्षा चुनौती बढाएको बताए ।
भारततर्फबाट नेपाल प्रवेश गरी विभिन्न स्थानमा बसोवास गर्ने प्रयास गर्ने रोहिङ्ग्या लगायत अन्य देशका नागरिकलाई पहिचान गरी नियन्त्रणमा लिई सम्बन्धित निकायलाई बुझाउने काम भइरहेको आइजीपी कार्कीले बताए ।
त्यसरी नेपाल प्रवेश गर्ने कतिपय शरणार्थीहरु विभिन्न अपराधमा संलग्न रहेको उनको भनाई छ ।
सीमा क्षेत्रमा हुने अवैध हातहतियारको ओसारपसार, लागुऔषध तस्करी, र साइबर स्क्यामिङलाई पनि प्रहरीले प्रमुख चुनौतीका रूपमा लिएको आइपीजी कार्कीले बताए । ।

सुरक्षाका चुनौतीहरु नियन्त्रण गर्न नेपाल प्रहरीले नियमित रुपमा सीमा नाकामा गस्ती, निगरानी र संयुक्त सुरक्षा अभियानका साथै ड्रोन, स्क्यानर र तालिमप्राप्त कुकुर जस्ता प्रविधिको प्रयोग गर्दै सीमा सुरक्षालाई थप प्रभावकारी बनाउँदै आएको उनले जानकारी गराए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार