
जनकपुर । गृहमन्त्री सुधन गुरुङ जनकपुरमा आन्दोलनरत मोर्चासँग सहमति गरेका छन् । जनकपुरमा गृहमन्त्रीले आन्दोलनरत हिन्दु धार्मिक मोर्चाबिच सहमति गरेका हुन् ।
विभिन्न १३ बुँदे माग राखेर मोर्चा आन्दोलनमा उत्रिएपछि गृहमन्त्री आफैँ वार्ता गर्न शनिबार आएका थिए । गृहमन्त्री र आन्दोलनरत पक्षबिच दुई चरणमा भएको छलफलपछि सहमति जुटेको हो । गृहमन्त्रीसँगको सहमतिपछि अब तराई मधेशका जिल्लाहरुको जनजीवन सामान्य बन्दै गएको छ ।
सहमति पश्चात् १२ वटा माग तत्काल पुरा गर्ने तर्फ सरकारले गृहकार्य अगाडि बढाउने भएको छ । आन्दोलनरत पक्षले नेपाललाई हिन्दु राष्ट्र कायम हुनुपर्ने माग पनि राखेकाले सरकारले ३ महिनाको समय माग गरेपछि त्यसमा सबैको सहमति जुटेको थियो ।
वार्तामा जनकपुर उपमहानगरपालिकाका प्रमुख मनोज साह, धनुषाका प्रतिनिधि सभा सदस्य, मधेस प्रदेश सरकार, स्थानीय जनप्रतिनिधि र प्रमुख जिल्ला अधिकारीको सहभागिता थियो भने आन्दोलनमा उत्रिएका विभिन्न १ दर्जन बढी धार्मिक सङ्घसंस्थाका प्रतिनिधिहरू वार्तामा सहभागी थिए ।













