गोली हानेर प्रहरीद्धारा ‘खुङ्खार अपराधी’ पक्राउ

काठमाडौं । प्रहरीले ‘खुङ्खार अपराधी’ मनिएका फुल हसन अन्सारी समूहका सत्यराज योगी भनिने सन्तोष दासलाई पक्राउ गरेको छ । भारतबाट नेपाल आउँदैछन् भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले पर्सामा गोली हानेर पक्राउ गरेको हो ।

प्रहरीलाई हतियार देखाएर भाग्न खोज्दै गर्दा वीरगञ्जको राधेमाई क्षेत्रमा प्रहरीले गोली चलाएको हो । उनलाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड गोली हानेको थियो ।

उनको दाहिने घुँडामा गोली लागेको छ । गोली लागेर घाइते भएका दासको नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ ।

दासको साथबाट प्रहरीले म्यागजीनसहितको टाईप ५४ मोडेलको पेस्तोल, १७ राउण्ड गोली र सेतो प्लाष्टिकमा रहेको खैरो रङ्गको १७० ग्राम धुलो पदार्थ पनि बरामद गरेको छ ।

दास यसअघि २०६४÷०६५ मा हातहतियार मुद्दामा तत्काल पुर्पक्षका लागि जेल चलान भएका व्यक्ति हुन् । त्यस्तै २०६६÷०६७ मा पशुपति रोड कैरियर ट्रान्सपोर्टमा काम गर्ने राजेश्वर दुवेलाई गोली प्रहार गरी हत्या गरेको आरोपमा ८ वर्ष ५ महिना १० दिन कैद सजाय भुक्तान गरेर निस्किएका थिए दास ।

आपराधिक क्रियाकलापमा संलग्न रहेको दास अहिले पनि भारतमा बसेर व्यापारी धम्क्याउँदै पैसा असुली गर्ने काम गर्दै आएको बुझिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार