
काठमाडौं । ‘समग्र राष्ट्रिय किशोरी सञ्जाल’ ले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापालाई ३० बुँदें माग पत्र बुझाएको छ । समग्र देशका किशोरीका हक अधिकार सहितको माग समावेश गरिएको माग पत्र बुधबार काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा मन्त्री थापालाई बुझाएको हो ।
“सशक्त किशोरी : समृद्ध नेपालीको आधार” भन्ने नाराका साथ ललितपुरको गोदावरीमा तीन दिनसम्म सञ्चालन भएको छैटौं राष्ट्रिय भेलाले माग पत्र तयार पारेको हो । भेलामा ७ वटै प्रदेशका ४१ जना किशोरीको सहभागिता रहेको थियो । माग पत्रमा ४१ जना किशोरीले हस्ताक्षर गरेका छन् ।
किशोरीले आफुले तयार पारेको माग पत्र, राष्ट्रिय योजना आयोग, संघीय संसद, लगायत प्रदेश तथा स्थानीय सरकारलाई पनि बुझाएका छन् । माग पत्र निमार्ण गर्नुको उदेश्य तिनै तहका सरकारले किशोरीका समस्यालाई बुझेर उनीहरुका हक अधिकार सुनिश्चित गर्नका लागि ध्यान आकर्षण गर्नु रहेको समग्र राष्ट्यि किशोरी सञ्जालका अध्यक्ष मेनुका थापाले जानकारी दिइन।
माग पत्रमा लैगिंक रुपमा गरिने विभेद अन्त्य गरिनुपर्ने, बाल गृहमा बसेका बालबालिकाको नागरिकता सहज बनाउनु पर्ने, सार्वजनिक ठाउँ, गाडी, बाटो, विद्यालय, घर लगाएतका ठाउँमा हुने हिसां न्यूनिकरणमा सहयोग गर्र्नु पर्ने, संविधान ऐन कानुनमा बालबालिकाका लागि गरिएका व्यवस्था पाठ्यक्रममा पनि समावेश गरिनु पर्ने लगाएतका ३० वटा बुँदा रहेका छन् ।
किशोरीका माग जायज– मन्त्री

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले किशोरीले राखेका माग जायज भएकाले कार्यान्वयनमा पहल गर्ने बताएकी छन् ।
किशोरीले दिएको माग पत्र बुझिसकेपछि आफुले र आफ्नो मन्त्रालयले गर्न सक्ने कामका लागि आफु सधै तयार रहेको प्रतिबद्धता समेत जनाएकी छन् ।
हाम्रो समाजमा महिलालाई गरिने विभेदको मारमा किशोरी पनि परेकाले सबै भन्दा पहिले उनीहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नु पर्नेमा उनले जोड दिइन। परम्परादेखि चल्दै आएको कु संस्कार, कुरिती र गलत सोंचका कारण पनि किशोरीले हिसां भोग्नु परेकोमा मन्त्री थापाले दुख व्यक्त गरिन ।
मन्त्री थापाले किशोरी र बालबालिकाको लागि देशमा थुपै ऐन कानून बनेकाले ढुक्क हुन किशोरीलाई आग्रह गरिन् । समग्र राष्ट्रिय किशोरी सञ्जालको छैंटौ राष्ट्रिय भेला समापन एंव अन्तरक्रिया कार्यक्रममा विभिन्न क्षेत्र र फरक क्षमता भएका किशोरीले आफ्ना समस्याहरु राखेका थिए । कार्यक्रमको आयोजना समग्र राष्ट्रिय किशोरी सञ्जालले गरेको थियो भने सिविन नेपालले समन्वय गरेको थियो ।










