काठमाडौं । दशैंको समयमा काठमाडौंबाट बाहिरिने यात्रुको संख्या धेरै नै हुन्छ । दुई सातामा मात्रै काठमाडौंबाट २४ लाख मानिस बाहिरिएका छन् ।
महानगरीय ट्राफिक महाशाखाको रेकर्डले १० लाख ४६ हजार जना उपत्यका भित्रिएको पनि देखाउँछ । महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालका अनुसार यो विवरण ५ असोजदेखि १८ गतेसम्मको हो ।
उनका अनुसार यो अवधिमा २ लाख ६१ हजार ६ सय २८ वटा सवारीसाधान विभिन्न नाका भएर बाहिरिएका छन् भने १ लाख ७७ हजार ७६ वटा सवारी भित्रिएका छन् ।
यसपटकको दशैंमा १ लाख ५० हजार ७ सय ८३ यात्रुले अग्रिम टिकट बुकिङ गराएका थिए ।
यो अवधिमा यात्रुबाट अग्रिम बुकिङको टिकट नपाइएको, टिकटमा गाडी नम्बर र चढ्ने गाडी नम्बर परेको, सिट नम्बर उल्लेख नभएको जस्ता गुनासा प्रहरीमा प्राप्त भए ।
यस अवधिमा प्रहरीले बढी भाडा लिने ३ सय १४ जनालाई कारबाही गरिएको छ भने ट्राफिक कम्युनिकेशन एपमार्फत निगरानी गरेर लामो दूरीमा दुई जना चालक नराख्ने २६ जनालाई पनि कारबाही गरिएको छ । साथै मापसे सेवन गरी गाडी चलाउनेलाई पनि कारबाही गरेको छ ।
‘हेल्मेटको प्रयोग नगर्ने, जिकज्याक र तीब्र गतिमा चलाउने १५ जना कारबाहीमा परेका छन् । यस्तै ओभरलोड, सवारीको अन्य भाग तथा छतमा यात्रु तथा सामान राख्ने ४० जना बारबाहीमा परेका छन् ।









