काठमाडौं । बलात्कारको आरोप लागेर सभामुख पद गुमाएका कृष्णबहादुर महराको सांसद पद निलम्बनमा परेको छ । महराको सांसद पद पनि निलम्बनमा परेको सूचना प्रकाशित गरिएको संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले बताए ।
कुनैपनि सांसदलाई फौजदारी अभियोग लागेमा उनको सांसद पद निलम्बनमा पर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था अनुसार महराको सांसद पद गएको हो ।
बलात्कारको आरोपपछि सभामुख पदबाट राजिनामा दिएर बालुवाटारको सरकारी निवासबाट बाहिरिएका महराको सांसद पद पनि निलम्वनमा परेपछि उनलाई दिइदै आएको सरकारी सेवासुविधा पनि अब रोक्का हुनेछ ।
महरामाथि संसद सचिवालयकै एक महिला कर्मचारीले आफुलाई बलात्कार प्रयास गरेको आरोप लगाएकी थिइन । महरालाई केहिदिन अघि प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो । हिरासतमा उनको स्वास्थ्य अवस्था बिग्रीएपछि उनलाई आजै अस्पताल भर्ना गरिएको छ ।









