
काठमाडौं । रोल्पाका १७ वर्षिया सनी विश्वकर्मा पहिलो नेपाल लोक स्टार बन्न सफल भएका छन् । सनीले लोक स्टारको फाइनल राउण्डको तीन प्रतिस्पर्धीलाई पछि पार्दै नगद ५० लाख रुपैयाँ नगद र २५ लाख बराबरको सिटिजन लाइफ इन्स्योरेन्सको जीवन विमा पुरस्कार जितेका हुन् ।
शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न प्रतियोगिताको ग्राण्ड फिनालेमा चेतन गोतामे दोस्रो भई उनले २५ लाख रुपैयाँ नगद र सिटिजन लाइफ इन्स्योरेन्समा १५ लाखको जीवन विमा पुरस्कार पाएका छन् ।
त्यस्तै प्रतियोगिताको तेस्रो भने विनोद दनुवार भए। उनले १० लाख नगद र सिटिजन्स लाइफ इन्स्योरेन्सको तर्फबाट १० लाख बराबरको जीवन विमा पुरस्कार पाएका छन् ।
प्रतियोगिताभरी सबैखाले गीत गाएर विजेताको प्रमुख दाबेदारका रुपमा आफुलाई उभ्याएका रामकुमार नेपालीले भने पर्फमर अफ दि सिजनको उपाधि जिते। उनले दुई लाख नगद पाए ।
नेपालको लोक संस्कृति प्रचार र विकास गर्ने उद्देश्यले चाहना मिडिया प्रालिलेले असार १२ गतेबाट नेपालमा पहिलो पटक लोक गीतहरुको रियालिटी सो नेपाल लोक स्टार सुरु गरेको थियो ।
नेपाल लोकस्टार नेपाली लोकसंगीतको इतिहासमा धेरै पुरस्कार राशिको सांगीतिक कार्यक्रम हो । देशभरका विभिन्न ठाउँमा भएको अडिसनबाट लोकस्टारका उत्कृष्ट प्रतियोगीहरु छनोट भएका थिए ।
प्रतियोगिताको निर्णायकको भुमिमा जयनन्द लामा, बीबी अनुरागी, सुनिता दुलाल र रामजी खाँड थिए ।
भिडियो पनि हेर्नुहोस










