
काठमाडौं । लोकपृय पूर्वअर्थमन्त्री स्वर्गिय वामपन्थी नेता भरतमोहन अधिकारीको स्मृतिमा अक्षयकोष स्थापना गरिने भएको छ ।
पूर्वउपप्रधानमन्त्री समेत रहेका अधिकारीको प्रथम वाषिर्कीको अवसर पारेर आगामी १८ फागुनमा अक्षयकोष घोषणा गरिने भरतमोहन अधिकारी फाउण्डेशनले जनाएको छ । फाउण्डेशनको तेश्रो बैठकले अधिकारीको व्यक्तित्व र कृतित्वलाई जनताबीच जिवितै राख्ने उद्देश्यका साथ अक्षयकोष स्थापना गर्ने निर्णय गरेको फाउण्डेशनका महासचिव पदम खतिवडाले बताए ।
उनका अनुसार १८ फागुनमा २५ लाख रुपैयाँबाट कोष सुरु गरिने छ । तात्कालिन एमाले नेतृत्वको नौ महिने अल्पमत सरकारका अर्थमन्त्री रहेका अधिकारीले ‘आफ्नो गाउँ आफैं बनाऔं’ र बृद्ध भत्ता कार्यक्रम सुरु गरेर जनतामाझ लोकप्रियको छवि बनाएका थिए ।
दिवंगत हुनुअघि अधिकारीले पारिवारिक सदस्यहरुलाई आफ्नो बैंक खातामा रहेको २५लाख रुपैयाँको अक्षयकोष स्थापना गरिदिन भनेकाले उहाँको चाहना पूरा गर्न सो निर्णय गरिएको खतिवडाले बताए ।
अक्षयकोषमा भरतमोहनका पारिवारिक नातेदारदेखि उनले राजनीतिक जीवनमा सहकार्य गरेका शुभेच्छुकर्लाइ ऐच्छिक रुपमा रकम दानका लागि अपिल गरिने प्रतिष्ठानले जनाएको छ ।
कोषबाट प्राप्प ब्याज आमदानी रकमबाट हरेक वर्ष पिताको वाषिर्कीका दिन राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक तथा क्षेत्र, सहकारीताका क्षेत्रमा विशेष योगदान गर्ने एक जनालाई क्रमशः पुरस्कृत गर्दै जाने अधिकारी पुत्री लीमा अधिकारीले जानकारी दिइन् ।
प्रतिष्ठानले आगामी १८ फागुनमा पहिलो वाषिर्की पारेर ‘हाम्रो नजरमा भरतमोहन’ नामका स्मृति ग्रन्थ (पुस्तक) समेत सार्वजनिक गर्ने भएको छ ।
यस्तै फाउण्डेशनले कुनै समय पत्रिकाको सम्पादकका रुपमा भूमिका खेलेका अधिकारीको नाममा आगामी वाषिर्कीका अवसरमा एक जना सम्पादकलाई सम्मान गर्ने निर्णय समेत गरेको छ ।
स्व. नेता अधिकारीको ८२ वर्षको उमेरमा गत २०७६ साल फागुन १८ गते निधन भएको थियो ।










