
जनकपुर । अत्यन्त श्रद्धा र भक्तिपूर्वक मनाइने महापर्व छठ सुरु आजदेखि सुरु भएको छ । छठअन्तर्गत आज पहिलो दिन ‘नहाय-खाय’ विधि गरिदैछ । आजको दिनलाई ‘अरबा-अरबाइन’ पनि भनिन्छ । व्रतालुहरुले शांकाहारी भोजन गरेर आजकै दिनदेखि व्रत बस्ने परम्परा पनि छ ।
कात्तिक शुक्लपक्ष लाग्ने बित्तिकै व्रतालुले सात्विक भोजनका साथै अपवित्र मानिने दाल, तरकारी र सागपात आदि खाँदैनन् ।
छठपर्व विशुद्धरूपमा प्रकति र पुरूषको पूजा हो । सन्तान प्राप्तिका लागि दैवी कृपाको अपेक्षा यस व्रतले गरेको छ ।
झट्ट हेर्दा यो सूर्यको पूजाझैँ देखिए पनि पुराणअनुसार यो मूल प्रकृतिको छैटौं अंशबाट उत्पन्न भएकी भगवती देवीको पूजा हो । देवी भागवतमा षष्ठी देवीले पुत्रहीनलाई पुत्र प्रदान, पत्नीहीनलाई पत्नी प्रदान, धनहीनलाई धन र कर्मवानलाई उत्तम फल प्रदान गर्ने उल्लेख गरिएको छ । यसै कारण यो पर्व साझा समानताको पर्वका रूपमा लोककरण भएको पाइन्छ ।
यस पर्वमा नैवेद्यका लागि आवश्यक गहुँ र गम्हरी -धानको एक प्रकार, कालो रङको (गर्भमै पाक्ने पवित्र अन्न) को व्यवस्था केही दिन पहिलेदेखि नै गरिएको हुन्छ । गम्हरीलाई साठी पनि भनिन्छ ।
छठपर्वमा साठी प्रकारको वस्तु चाहिने भनिन्छ, तिनमा गम्हरीलाई कुटेर त्यसको केही कमी रहन गएमा गम्हरीको प्रयोगले त्यसको पूर्ति भइहाल्ने जनविश्वास छ । चामललाई पर्वका अवसरमा बनाइने नैवेद्यका लागि उपयोग गरिन्छ ।
आरोग्य लाभ मुख्य उद्देश्य भएको छठपर्व उत्सवको रूपमा मात्र नभई कठिन व्रत र उपवास गरिने तपस्याको रूपमा देखिन्छ । चोखोपना, संयम र पूर्ण ब्रहृमचर्यसाथ छठी माताको भक्तिपूर्ण आराधना गर्दा मात्र छठ पूजाको फल प्राप्ति हुने जनविश्वास पाइन्छ ।










