
काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि बुधबार अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको बिहिबार दोस्रो डायलासिस गरिएको छ । उपचारका लागि काठमाडौंको ग्राण्डी अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओलीको पहिलो पहिलो डायलासिस बुधबार नै गरिएको थियो ।
२०६४ सालमा मिर्गौला प्रत्यारोपण गरिका प्रधानमन्त्री ओलीले त्यसपछि सिंगापुरमा नियमित स्वास्थ्य परीक्षण गरिरहेका थिए । गत महिना मात्रै उनको प्लाज्मा फेरेसिस गरिएको थियो ।
प्रधानमन्त्रीको उपचार गर्ने अस्पताल र प्रधानमन्त्रीको निजी सचिवालयले प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्य अवस्थाबारे ठिक रहेको जानकारी दिएको छ ।
प्रचण्डले भेटे प्रधानमन्त्रीलाई
यसैबीच सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ग्रान्डी अस्पतालमै भेट गरेका छन् । उनले प्रधानमन्त्रीको डायलासिस गरिएको पुष्टि गरेका छन् ।
बिहीबार प्रधानमन्त्रीलाई भेट्न अस्पताल पुगेका उनले सञ्चारकर्मीहरुसँग भने, ‘भर्खर एउटा डायलासिस भएपछि रेष्ट गरेर डिस्चार्ज हुँदै हुनुहुन्छ । आज बालुवाटार जानुहुन्छ ।’
प्रधानमन्त्री ओलीसँग आफ्नो सामान्य कुराकानी भएको उनले जानकारी गराएका छन् । उनले डायलासिस गरिसकेपछि अवस्था सामान्य रहेको पनि बताए ।
यसअघि उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले पनि प्रधानमन्त्रीलाई भेटेका थिए ।










