
काठमाडौं । लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान आजबाट सुरु भएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बरसम्म १० सम्म मनाइने दिवसको यसवर्षको नारा “समानताको पुस्ताः बलात्कार विरुद्ध ऐक्यबद्धता” राखिएको छ ।
अन्तर्राष्ट्रिय अभियानका रुपमा मनाइने यो दिवसलाई नेपालमा पनि भव्य रुपमा मनाउने गरिन्छ । नेपाल सरकार मन्त्रिपरिषदले यसअघि नै सामाजिक सचेतना सहित लैंगिक हिंसा विरुद्धको अभियान संचालन गर्न संघीय सरकारका मन्त्रालय तथा निकायहरु, सातै वटा प्रदेश सरकार, ७७ वटै जिल्ला समन्वय समिति, ७५३ स्थानीय तह एवं त्यसका वडाहरु, सरोकारवाला निकायहरु, विद्यालय, सामाजिक संघ संस्थाहरुलाई आह्वान गरिसकेको छ ।
त्यसै गरी सरकारले २०७६र०७७ लाई लैंगिक हिंसा विरुद्धको अभियान वर्षको रुपमा संघ, प्रदेश र स्थानीय तहमा मनाएको छ ।
डिसेम्बर १० सम्म संचालन गरिने यो अभियानको अगुवाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले गरेको छ ।
१६ दिने अभियान के हो ?
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सन् १९९१ देखि सुरु भएको हो । यसको मुख्य उद्देश्य लैंगिकतामा आधारित सबैखाले हिंसा र अपराधलाई अन्त्य गरी महिला र पुरुषबीचको असमानता हटाउनु हो ।
१९६० नेभेम्बर २५ तारेखका दिन डोमिनिक रिपब्लिकका तानशाहले आफ्नो सरकार विरुद्ध आन्दोलन गर्ने एकै परिवारका ३ दिदीबहिनीलाई गरेको हत्यासँग यो अभियान जोडिएको छ ।
ती दिदीबहिनीको साहासलाई सम्मान गर्दै ल्याटिन अमेरिकी देशहरुबाट नोभेम्बर २५ कै दिनलाई अभियानको रुपमा मनाउन थालिएको हो । भने संयुक्त राष्ट्रसंघको साधारण सभाले १७ डिसेम्बर १९९९ मा मात्रै यस दिनलाई अन्तर्र्रािष्ट्रय महिला हिंसा विरुद्धको दिवसको औपचारिक मान्यता दिएको थियो ।
सुरुमा यो अभियान २० देशका २३ जना उत्साहित महिलाको सहभागितामा भएको थियो । अहिले यो अभियान विश्वभर मनाउने गरिन्छ ।









