
काठमाडौं । प्रख्यात एप्पल कम्पनीसहित अमेरिकाका पाँच प्रमुख प्रविधि कम्पनीविरुद्ध बालश्रम शोषण गरेको भन्दै मुद्दा दायर गरिएको छ। अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाए अनुसार एप्पल, माइक्रोसफ्ट, टेस्ला, अल्फावेटा र डेलविरूद्ध मानव अधिकारवादी संगठन इन्टरनेसनल राइट्स एडभोकेट्सले बालश्रम शोषणको गरेको भन्दै मुद्दा दायर गरेका हुन ।
उक्त मानव अधिकारवादी संस्थाले अमेरिकाको वासिङटनको अदालतमा सोमबार मुद्दा दायर गरेको बताइएको छ ।
मानव अधिकार संस्थाले यी कम्पनीले अफ्रिकन देश कंगोको कोबाल्ट खानीमा बालबालिकालाई प्रयोग गरेको दावी गरेको छ । त्यहाँ उनीहरूलाई एक डलरभन्दा कम पारिश्रमिकमा काम गराएको काम लगाएको उक्त संस्थाको भनाई छ।
इन्टरनेसनल राइट्स एडभोकेट्सले १४ पीडितका तर्फबाट मुद्दा दायर गरेको हो। कंगोमा अहिले ३३ प्रतिशत कोबाल्ट कम्पनी कुनै नियमबिना चलिरहेका छन्। विश्वभरि प्रयोग हुने कोबाल्टको दुई तिहाइ कंगोबाट सप्लाई हुन्छ।
कोबाल्ट मोबाइललगायतका इलेक्ट्रोनिक ब्याट्रीमा प्रयोग गरिने धातु हो। सोही कोबाल्ट प्रयोग गरेर अमेरिकन कम्पनी हरेक वर्ष अर्बौं डलर कमाइरहेकाले उनीहरूविरूद्ध मुद्दा हालेको उक्त संस्थाको दाबी छ।













