वीरगञ्ज । बाराका पत्रकार वीरेन्द्र साहका हत्या आरोपी १२ वर्षपछि पक्राउ परेका छन् ।
हत्याका आरोपी कुन्दन फौजदारलाई आज (आइतबार) बिहान करिब सवा २ बजे बाराको बारागढी गाउँपालिका–६, गडहलस्थित उनकै निवासबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
फौजदारलाई पक्राउ गर्न पुगेको प्रहरी टोलीलाई उनका समर्थकले अवरोध गर्ने प्रयास गरेपछि प्रहरीले ४ राउन्ड हवाई फायर गर्नु परेको बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए ।
१२ बर्षअघि बाराको पिपरा बजारबाट अपहरण गरी पत्रकार साहको हत्या गरिएको थियो ।
पत्रकार साह एभिन्यूज टेलिभिजनमा कार्यरत रहँदा उनलाई २०६४ असोज १८ गते साहको समुहले पिपरा बजारबाट अपहरण गरी हत्या गरेको आरोप छ ।











