
काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतदेखि घोषणा गरेको लकडाउन आजबाट केही खुकुलो भएको छ । लामो लकडाउनका कारण काम गरेर खाने मज्दूर र देशको आर्थिक अवस्था विग्रन थालेको भन्दै सरकारले लकडाउनको मोडालिटी परिवर्तन गरी केही खुकुलो बनाएको हो ।
लकडाउन खुकुलो भएसँगै आजबाट सरकारी कार्यालयहरु दुई सिफ्टमा सन्चालन हुँदैछन् । पहिलो सिफ्ट विहान ८ बजेदेखि १ बजेसम्म निर्धारण गरिएको छ । त्यस्तै सरकारले दोस्रो सिफ्ट दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म तोकिएको छ ।
लकडाउनको मोडालिटी परिवर्तन गरी ८३ दिनसम्म बन्द रहँदै आएका देशभरका सरकारी कार्यालयहरुलाई सरकारले १ असारदेखि खोल्ने निर्णय यसअघि नै गरेको थियो ।
सरकारले कार्यालयभित्र कर्मचारीहरुले भौतिक दुरी कायम गर्न र स्वास्थ्य सुरक्षाका उपाय अपनाएर काम गर्न भनेको छ ।
सरकारी र अन्य गैर सरकारी कार्यालयहरु पनि आजबाटै दुई सिफ्टमा सञ्चालन भएका छन् । सबैले सरकारले बनाएको स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्नु पर्ने छ ।
सेवाग्राहीको भिडभाड हुने कार्यालयमा टोकन प्रणाली अपनाउन, कार्यालय प्र्रवेश गर्नुअघि नै तापक्रम नाप्ने व्यवस्था गर्न भनिएको छ । साथै स्यानिटाइजर र मास्क लगाउने लगायतका नियम पनि सेवाग्राही र कर्मचारीले पालना गर्नुपर्ने छ ।
त्यस्तै बैंक, वित्तीय संस्था, सहकारी, बीमा सेवा पनि आजबाट सञ्चालन हुँदैछन् । यसरी सञ्चालन हुनेमा गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र शिक्षण संस्थाका कार्यालयसमेत छन् ।
यस्तै सार्वजनिक तथा जोरबिजोर प्रणालीमा सञ्चालन हुने गरी निजी सेवा प्रदायक कार्यालयका श्रमिक तथा कर्मचारी ओसारपसार गर्न प्रयोग गरिने सवारीसाधनसमेत आजबाट सञ्चालन हुन पाउने छ ।
यात्रुले अनिवार्य रुपमा मास्क र स्यानेटाइजरको व्यवस्थासहित एक लहरमा एक जना यात्रु मात्रै राख्नुपर्ने छ । उक्त सवारीमा आफ्नो कार्यालयमा काम गर्ने मजदूर तथा कर्मचारी मात्रै राख्नुपर्ने छ ।
त्यस्तै सरकारले मानिसको बढी भिडभाड हुने र सहभागिता बढी हुने पठनपाठन, अनुमति प्राप्तबाहेकका अन्तर्राष्ट्रिय र आन्तरिक उडान, तोकिएकाबाहेकका अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवागमन भने बन्द नै राखेको छ ।
सबै प्रकारका तालीम, सेमिनार, सभा, गोष्ठी र भेला, सिनेमा हल, पार्टी प्यालेस डान्सबारलगायतका मनोरञ्जनस्थल, सार्वजनिक पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना, स्पा, शैलुन तथा ब्युटीपार्लर, स्वीमिङ पुल, सपिङ मल, समूहमा खेलिने खेलकूद र खेलमैदान, सबै प्रकारका धार्मिक तथा सामाजिकस्थल, यात्रुबाहक सवारीसाधन भने बन्द नै रहने छन् ।









