
काठमाडौं । कोरिया अन्तर्राष्ट्रिय सहयोग निकाय (KOICA) ले K-HaMi (कोरिया ह्याप्पी माइग्रेसन) परियोजनाअन्तर्गत कोरियाबाट फर्किएका नेपाली आप्रवासीहरूका लागि मोटरसाइकल मर्मतसम्बन्धी तालिम सञ्चालन गरेको छ।
जुन ८ देखि १५ सम्म काठमाडौंमा आयोजित तालिममा १२ जना प्रशिक्षार्थी सहभागी भएका थिए। उनीहरूले ८ दिनको अवधिमा ५१ घण्टाको सैद्धान्तिक तथा व्यावहारिक प्रशिक्षण प्राप्त गरेका छन्। कार्यक्रममा कोरियाको मानव संसाधन विकास सेवा (HRDK) ले कार्यान्वयन साझेदारको रूपमा सहकार्य गरेको थियो।
KOICA का अनुसार तालिमको उद्देश्य कोरियाबाट फर्किएका नेपालीहरूको रोजगारी तथा उद्यमशीलता क्षमता अभिवृद्धि गरी समाजमा दिगो पुनःएकीकरणमा सहयोग पुर्याउनु हो। तालिममा काठमाडौंका दुई अनुभवी मोटरसाइकल मर्मत व्यवसायी तथा प्राविधिक विशेषज्ञहरूले प्रशिक्षण दिएका थिए।
प्रशिक्षकमध्ये एक ईश्वर भन्तना स्वयं कोरियाबाट फर्किएका आप्रवासी हुन्। उनले कोरियामा रहँदा सिकेको सीपलाई उपयोग गर्दै नेपाल फर्किएपछि मोटरसाइकल मर्मत तथा स्पेयर पार्ट्स व्यवसाय सञ्चालन गरिरहेका छन्। उनका अनुसार मोटरसाइकल मर्मत व्यवसाय कम लगानीमा सुरु गर्न सकिने र स्थिर आम्दानीको स्रोत बन्न सक्ने क्षेत्र हो।
तालिममा सहभागी अछामका रमेशराज अधिकारीले आफ्नो जिल्लामा मोटरसाइकल मर्मत सेवाको आवश्यकता बढ्दै गएको बताए। उनले स्थानीय स्तरमै व्यवसाय सञ्चालन गर्ने उद्देश्यले तालिम लिएको जानकारी दिए।
त्यस्तै, अर्का सहभागी विक्रम राईले प्राविधिक ज्ञान अभावका कारण व्यवसाय सञ्चालनमा चुनौती भोग्दै आएको उल्लेख गर्दै तालिमले व्यवसाय विस्तारका लागि आवश्यक सीप प्रदान गरेको बताए।
KOICA नेपाल कार्यालयका कन्ट्री डाइरेक्टर मुह्योन कोङले कोरियामा काम गर्दा हासिल गरेका सीप र अनुभवलाई उपयोग गर्दै फर्किएका आप्रवासीहरूलाई आर्थिक गतिविधिमा संलग्न गराउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताए। उनले आगामी दिनमा पनि स्टार्टअप सहयोग तथा प्राविधिक तालिममार्फत फर्किएका आप्रवासीहरूको आर्थिक आत्मनिर्भरतालाई सघाउने प्रतिबद्धता व्यक्त गरे।
यस कार्यक्रमलाई कोरियाबाट फर्किएका नेपालीहरूको स्वरोजगार र उद्यमशीलता प्रवर्द्धन गर्ने महत्वपूर्ण पहलका रूपमा हेरिएको कोईका के हामी परियोजनाका सिमरन साहले जानकारी दिइन्।










