
बारा । बाराको वीरगंजस्थित एक रेडियोमा काम गर्ने सबै संचारकर्मीहरुमा कोरोना संक्रमण भएर पनि रेडियो चलाइरहेका छन् । यो नेपालमा पहिलो पटक हो । स्थानिय नारायणी एफएम १०३.८ मेगाहर्जमा कार्यरत सबै संचारकर्मीमा कोरोना पुष्टि भएको हो ।
संक्रमणपछि रेडियोकै आइसोलेसनमा बसेर उनीहरु नियमित समाचार, कार्यक्रमहरु प्रशारण गरिरहेका छन् । गत भदौ ४ गते रेडियोमा कार्यरतमध्ये ६ जनाको कोरोना परीक्षण गरिकोमा ५ जनामा संक्रमण देखिएको रेडियोका अध्यक्ष गोविन्द देवकोटाले जानकारी दिए ।
सबै कर्मचारीमा संक्रमण देखिएपछि रेडियो नै बन्द हुने अवस्था आएपछि रेडियो मै आइसोलेसन बनाएर प्रशारण नियमित गरिरहेको उनले बताए ।

गत साउन १८ गते रेडियोका स्टेशन प्रमुखलाई पनि कोरोना देखिएपछि थियो । उनी अहिले निको भएर घरमा आराम गरिरहेको अध्यक्ष देवकोटाले बताए । त्यसपछि साउन २८ गते रेडियोका अन्य ५ जना कर्मचारीमा परीक्षण गर्दा एक जना प्राविधिकलाई संक्रमण देखिएको थियो ।
रेडियोका अन्य ८ जना कर्मचारी अहिले होम क्वारेन्टिनमा बसेको समेत उनले बताए । संक्रमित भएर अहिले रेडियोको आइसोलेसनमा रहेका शिवनाथ यादवले नियमित समाचार बुलेटिन र कार्यक्रमलाई निरन्तरता दिइरहेका छन् । रेडियोको आइसोलेसनमा यादवसहित लेखा प्रशासन प्रमुख सहित दुई जना प्राविधिक, एकजना कार्यालय सहयोगी बसेका छन् ।










