
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकमा जोखिममा रहेका बस्ती सार्न सरकारलाई आग्रह गरेका छन् । पटक पटक पहिरोका कारण सयौंको ज्यान गएपछि देउवाले जोखिममा रहेका बस्ती सार्न सरकारलाई आग्रह गरेका हुन् ।
उनले आइतबार एक विज्ञप्ति निकाले जिल्लाको बाह्रबिसे नगरपालिका– ७ मा आइतबार विहान गएको पहिरोमा भएको मानवीय क्षतिप्रति दुख व्यक्त गरेका छन् साथै बेपत्ताहरुको तीब्रताका साथ खोजी गर्न, घाइतेहरुलाई उपचारको प्रबन्ध गर्न तथा पीडितका परिवारलाई अति आवश्यक सामग्रीहरु खाद्यान्न लत्ता कपडा भाँडाकुँडा औषधी र अस्थायी बसोबासको व्यवस्था तत्काल गर्न सरकारलाई अनुराेध गरेका छन् ।
उनले सिन्धुपाल्चोकमा पछिल्लो समय पटक पटक पहिरोले क्षति गरेको भन्दै भूगर्भविदहरुले औंल्याएका जोखिमका वस्तीका नागरिकलाई सुरक्षित स्थानान्तरण अविलम्ब गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
विज्ञप्ति मार्फत समाभपति देउवाले उद्धार र राहतको मानवीय कर्तव्यमा थप सक्रियताका लागि कांग्रेस कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।
गएराति गएको पहिरोमा परी अहिलेसम्म ९ जनाको शव भेटिएको छ भने २२ जना बेपत्ता छन् ।









