
काठमाडौं । जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सत्तारुढ दल सहमत भएका छन् । शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले जेठभित्रमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो ।
बैठकले गठबन्धनको निर्णयपछि सरकारले निर्वाचन आयोगसँगको परामर्शमा स्थानीय तहको निर्वाचनको मिति तोक्ने बताइएको छ । त्यस्तै स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गर्नुपर्ने भए त्यसको प्रक्रिया अघि बढाउन पनि सरकारलाई सुझाव दिएको छ ।
यसअघि सत्तारुढ गठबन्धनमा स्थानीय तह निर्वाचन ऐन संशोधन गरी स्थानीय तहको निर्वाचन धकेल्ने विषयमा छलफल भएको थियो । यो विषयमा सत्ता बाहिर रहेका नेताहरुले विरोध गर्न थालेपछि सत्तारुढ दलले छलफल गरी सहमति गरेका हुन् ।









