
काठमाडौं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कोशी प्रदेशको नाम सच्याउन पहल गर्ने आश्वासन दिएका छन् । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा माओवादी केन्द्रका नेता सुरेश आलेमगरसहित कोशी प्रदेशका माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु लगायत पहिचानवादीहरुको टोलीले प्रचण्डलाई भेटेर ज्ञापन पत्र बुझाएको छन् । ज्ञापन पत्र ग्रहण गर्दै प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेशको पक्षमा प्रदेश सभामा मतदान गर्दा कमजोरी भएको स्विकार गरेका छन् ।
अध्यक्ष प्रचण्डले सबैभन्दा पहिले पहिचानको मुद्दा उठाउने पार्टी माओवादी भएको र त्यसलाई आफूहरुले अझै नछाडेकाले पार्टीको तर्फबाट प्रदेशको नाम सच्याउन पहल गर्ने आश्वासन दिएका हुन् ।
तत्कालीन एक नम्बर प्रदेशको नाम ‘कोशी प्रदेश’ राख्नुपर्ने पक्षमा प्रदेश सभामा मतदान गरेको माओवादी केन्द्र त्यसको एक महिनापछि नामांकन सच्याउने पक्षमा उभिएको छ ।

गत फागुन १७ गते प्रदेशसभाबाट कोशी प्रदेश नाम पारित हुँदा माओवादी केन्द्रले भूगोलको आधारमा कोशी प्रदेशको पक्षमा मतदान गरेको थियो । त्यसपछि पहिचान पक्षधरले आन्दोलन चर्काएका छन् । आन्दोलनका क्रममा चैत ५ गते विराटनगरमा प्रहरीको लाठी प्रहारबाट घाइते भएका ४२ वर्षीय पदमबहादुर लिम्बु (लाजेहाङ्ग) को उपचारको क्रममा चैत १० गते मृत्यु भएको थियो । घटनालगत्तै प्रधानमन्त्री प्रचण्डले आन्दोलनरत पक्षका प्रतिनिधिहरुसँग भेटेका थिए । त्यसपछि प्रचण्डको निर्देशनमा छानबिन समिति गठन समेत गठन गरिएको छ ।
पहिचान पक्षधरले कोशी प्रदेशको नाम खारेज गरेर नयाँ नाम राख्नुपर्ने मागसहित आन्दोलनकारीहरुले चैत २५ गते निर्णायक आन्दोलन गर्ने चेतावनी दिएका छन् । आन्दोलनमा माओवादी केन्द्रले पनि ऐक्यबद्धता जनाएको छ ।









