
काठमाडौं । शङ्खमुलको दोभानमा सञ्चालन भइरहेको ‘प्रथम शङ्खमुल तीर्थ श्रावणी महोत्सव’ काठमाडौं महानगरपालिकाले अवरोध गरेको छ । अनुमति विना सार्वजनिक स्थलमा धार्मिक महोत्सव सञ्चालन गरेको सूचनाको आधारमा महानगरको नगर प्रहरीको टोलीले अवरोध गरेको हो ।
अनुमति विना हो–हल्ला हुनेगरी धार्मिक कार्यक्रम भइरहेको भन्ने गुनासो आएपछि कार्यक्रम नगर्न आयोजकलाई निर्देशन दिइएको महानगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए । नगर प्रहरीको अवरोधका कारण केही घण्टा धार्मिक महोत्सव प्रभावित बनेको थियो ।
आयोजकले वडा कार्यालयमार्फत अनुमति लिएरै भएपनि धार्मिक महोत्सवलाई निरन्तरता दिने अडान राखेको थियो । सोही अडान बमोजिम आयोजक समिति वडा कार्यालयमा अनुमति लिन गएपछि महानगरको टोली फर्किएको छ ।
ओमकार फाउण्डेसन र दोभान विकास समितिको आयोजनामा १ साउनदेखि शङ्खमुलको दोभानमा धार्मिक महोत्सव सञ्चालन हुँदै आइरहेको छ । उक्त
धार्मिक महोत्सवमा कोटेश्वर, शान्तिनगर, शङ्खमुल लगायत क्षेत्रका १३ वटा धार्मिक तथा सामाजिक संघसंस्थाहरु सहभागी भएका छन् । सार्वजनिक स्थानमा महोत्सव सञ्चालनका लागि स्थानीय तहबाट अनुमति लिनु पर्ने प्रावधान रहेको छ ।











