काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालका लागि चीनका राजदूत छन् सोङलाई भेटेका छन् । मन्त्रालयमा भएको भेटवामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आगामी चीन भ्रमणलाई मध्यनजर गर्दै कुराकानी भएको बताइएको छ ।
स्वास्थ्य मन्त्री बस्नेतका प्रेस संयोजक रामचन्द्र दुलालका अनुसार उनीहरुबीच चीन सरकारबाट तातोपानी नाकालाई व्यवस्थित बनाउने, भक्तपुरमा वीर अस्पताल विस्तार गर्नेलगायतका विषयमा कुराकानी भएको छ ।
त्यस्तै चीन सरकारले नेपालको स्वास्थ्य क्षेत्रमा गर्दै आएको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै मन्त्री बस्नेतले जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकासका लागि सहयोगको माग गरे । उनले देशभर गुणस्तरीय स्वास्थ्य सेवाको विस्तार, स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार निर्माण, आधुनिक एवं अत्यावश्यक स्वास्थ्य उपकरणका लागि सहयोगको माग गरे ।
भेटमा राजदूत सोङले चीन सरकारले नेपाललाई उपलब्ध गराउँदै आएको सहयोगलाई निरन्तरता दिने बताएका छन् ।