भारतले नेपालबाट १० हजार मेगावाट विद्युत् आयात गर्ने लगायत चार सहमतिमा हस्ताक्षर


काठमाडौं । नेपाल र भारतबीच १० हजार मेगावाटसम्म विद्युत् आयात गर्ने लगायत चारवटा सहमतिमा हस्ताक्षर भएको छ ।
आज काठमाडौंमा भएको परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकपछि उर्जा व्यापार सम्झौता सहितका चार महत्वपुर्ण सहमतिमा हस्ताक्षर भएको हो ।

परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा उर्जा व्यापार सम्झौता भएको छ। भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाटसम्म विद्युत् आयात गर्ने सम्झौतामा दुई देशका उर्जा सचिवले हस्ताक्षर गरेका छन् ।

सहमतीअनुसार नेपालले बनाएको म्यानुअल स्याटेलाइट प्रक्षेपण गर्न भारतले सहयोग गर्नेछ । यस्तै नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी र न्यू स्पेस इन्डिया लिमिटेडबीच भएको सहमतिमा भारतले उक्त स्याटेलाइट प्रक्षेपणका लागि नेपाललाई सहयोग गर्ने सहमती भएको छ ।

यस्तै हाई इम्प्याक्ट कम्युनिटी डेभलपमेन्ट प्रोजेक्ट ९एचआईसीडीपी० कार्यान्वयन सहमतिमा अर्थ सचिव कृष्णहरि पुष्कर र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले हस्ताक्षर गरेका छन् ।

भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि नेपाललाई १० अर्ब रुपैयाँ नेपाली अनुदान सहयोग गर्ने पनि सहमति भएको छ ।आजै दुवै देशका परराष्ट्रमन्त्रीले १३२ केभीए पावर क्षमताका तीनवटा प्रसारण लाइनको उद्घाटन समेत गरेका छन् ।

संयुक्त आयोगको बैठकमा नेपाल र भारतको समग्र विषयमा समीक्षा गर्ने, आगामी दिनमा नेपाल र भारतको सम्बन्धलाई कसरी सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले जानकारी दिए । बैठकमा कनेक्टिभिटी, व्यापार, जलस्रोत, उर्जा व्यापारका विषयमा छलफल भएको प्रवक्ता राईले बताए ।

नेपाल र भारतबीच भएका चार सहमति बुँदाहरु:

१- हाइ इम्प्याक्ट कम्युनिटी डेभलेपमेन्ट प्रोजेक्ट (उच्च प्रभाव सामुदायिक विकास परियोजना– एचआईसीडीपी) अन्तरगत नेपालको सरकारी संस्था वा अन्य संस्थाहरुबाट स्वीकृत लिएर गर्ने

२-दीर्घकालीन उर्जा व्यापार गर्ने

३- नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी (नाष्ट) र न्यू स्पेस इन्डिया लिमिटेड (एसिल) बीच नेपालले लुनास स्याटलाइटलाई प्रक्षेपण गर्न पोलार स्याटलाइट लन्ज भेहिकल (पीएसएलभी) उपलब्ध गराउने

४- नवीकरणीय उर्जा प्रवर्धनको सहकार्यको लागि लागि नेपाल विद्युत् प्राधिकरण र भारतको एलटीपीसी लिमिटेड बीचमा समझदारी ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार