
काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङेलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको सानो भर्याङबाट उनलाई पक्राउ गरिएको हो । स्वतन्त्र सांसद समेत रहेका मनाङेलाई सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै ५ वर्ष कैद सजाय सुनाएको थियो ।
तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई २०६९ सालमै ज्यान मार्ने उद्योगमै ५ वर्ष कैद सजाय सुनाएको थियो । सर्वोच्चले पनि त्यसलाई सदर गरेपछि मनाङेविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
दीपक मनाङेको समूहले ०६१ सालमा अर्का गुण्डा नाइके डन मिलन चक्रे भनिने मिलन गुरुङलाई तरबार हानेका थिए । सोहि आरोपमा मनाङेमाथि ज्यान मार्ने उद्योगको कसूरमा अदालतले सजाय सुनाइएको हो ।
तत्कालीन पुनरावेदन अदालत पाटनले ५ वर्ष कैद सजाय सुनाएपछि मनाङे पक्राउ परेका थिए । तर १० वर्ष भन्दा कम जेल सजाय भएको मुद्दामा जेलबाहिर रहेर पुर्पक्ष गर्न पाइने कानुनी व्यवस्था अनुसार उनी रिहा भएका थिए । सांसद बनेपछि मनाङे गण्डकी प्रदेश सभाको पटक पटक मन्त्रि बनेका थिए ।









