
मुस्ताङ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले मुस्ताङमा पार्टी कार्यालय भवनको शिलान्यास गरेका छन् ।
मुस्ताङको घरपझोङ गाउँपालिका—४ भ्रप्सोस्थित पेरिस डाँडामा निर्माण हुने माओवादी केन्द्रको पार्टीे कार्यालय भवनको अध्यक्ष प्रचण्डले शिलान्यास गरेका हुन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले बौद्ध परम्पराअनुसार उनले पार्टी कार्यालय शिलान्यास गरेको माओवादी केन्द्र जिल्ला समन्वय समितिका ‘इञ्चार्ज’ धीरेन्द्र विकले बताए । उनका अनुसार ६ कोठाको भवन निर्माण गर्न वारागुङ मुक्तिक्षेत्र—२ छ्ङ्गुरका ढच्युङ गुरुङले जग्गादान गरेका हुन् ।
पार्टी कार्यालय भवनको शिलान्यास कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले पार्टी कार्यालय भवन निर्माणपछि सङ्गठन विस्तारका साथै मुस्ताङी जनताको समग्र विकासका लागि काम गर्न सहज हुने विश्वास व्यक्त गरे । अध्यक्ष प्रचण्डले जनतालाई केन्द्रमा राखेर काम गर्न पार्टीका स्थानीय नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।
माओवादी केन्द्रको ‘जनतासँग माओवादी जनजागरण’ अभियानका क्रममा प्रचण्डसहितका माओवादी नेताहरु म्याग्दीको बेनी हुँदै मुस्ताङ पुगेका थिए ।
अभियानका क्रममा अध्यक्ष प्रचण्डले मुस्ताङमा राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम ७४ किमी सडकको स्थलगत अवलोकन गरेका छन्। प्रचण्डसहितको माओवादी नेताहरुको टोलीले लामो समयदेखि निर्माण अलपत्र परेको मुस्ताङको थासाङ गाउँपालिका–३ र ५ जोड्ने लेते–कुञ्जो मोटरेबल पुलको स्थलगत निरीक्षण समेत गरेको इञ्चार्ज विकले बताए ।











