कोरियाबाट फर्किएका नेपालीका लागि मोटरसाइकल मर्मतसम्भार तालिम

काठमाडौं ।  कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (KOICA) ले कोरियाबाट फर्किएका नेपाली आप्रवासीहरूको रोजगारी तथा उद्यमशीलता क्षमता अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौंमा मोटरसाइकल मर्मतसम्भारसम्बन्धी विशेष तालिम सञ्चालन गरेको छ।

के–हामी K-HaMi परियोजनाअन्तर्गत जुन ८ देखि १५ तारिखसम्म सञ्चालन हुने उक्त तालिममा १२ जना प्रशिक्षार्थी सहभागी छन्। परियोजना कार्यान्वयन निकाय कोरियाको मानव संसाधन विकास सेवा (HRDK)  ले सञ्चालन गरेको तालिममा सैद्धान्तिक र प्रयोगात्मक गरी ५१ घण्टाको प्रशिक्षण प्रदान गरिनेछ।

तालिममा एक जना कोरियाली मोटरसाइकल मर्मत विशेषज्ञ तथा नेपाली अनुभवी प्राविधिकहरूको सहभागिता रहेको छ। कोरियाको उन्नत प्रविधि र नेपालको व्यावहारिक अनुभवलाई समेटेर प्रशिक्षार्थीहरूलाई रोजगारी योग्य प्राविधिक सीप प्रदान गर्ने लक्ष्य राखिएको छ।

तालिमका क्रममा मोटरसाइकलको संरचना, इन्जिन मर्मतसम्भार, विद्युतीय तथा चार्जिङ प्रणालीसम्बन्धी ज्ञान र सीप प्रदान गरिनेछ। उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षार्थीहरूलाई स्थानीय मोटरसाइकल सेवा केन्द्रहरूमा इन्टर्नसिपको अवसरसमेत उपलब्ध गराइने जनाइएको छ।

कोइका नेपाल कार्यालयका कन्ट्री डाइरेक्टर मूहोन कोङले कोरियाबाट फर्किएका आप्रवासीहरूले विदेशमा हासिल गरेका सीप र अनुभवलाई नेपालमै उपयोग गर्न सकून् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको  बताएका छन् ।  उनले आप्रवासीहरूको आर्थिक आत्मनिर्भरता र सफल पुनःएकीकरणका लागि कोइकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिए ।

कोइकाले युवा, श्रम तथा रोजगार मन्त्रालय र एचआरडी कोरियासँगको सहकार्यमा सञ्चालन गरिरहेको के–हामी परियोजनाले कोरिया जान तयारी गरिरहेका, हाल कोरियामा कार्यरत तथा कोरियाबाट फर्किएका नेपाली श्रमिकहरूका लागि समग्र सहयोग प्रणाली विकास गर्ने लक्ष्य राखेको छ।

तालिमको एक कार्यक्रमकाबीच असार २ गते समापन गरिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार