जिप दुर्घटनामा ज्यान गुमाउनेको सामुहिक अन्त्येष्टि

बझाङ । बझाङमा जिप दुर्घटनामा परी मृत्यु भएकाको सामुहिक अन्त्येष्टि गरिएको छ । सोमबार जिप दुर्घटनामा परी मृत्युभएकामध्ये ९ जनाको बुधबार सामुहिक अन्त्येष्टि गरिएको हो ।

दुर्घटनामा मृत्यु भएकालाई क्षतिपूर्ति दिने सहमतिपछि मृतकका आफन्तले आ आफ्नो परम्पराअनुसार शव यात्रापछि दाहसंस्कार गरेका छन् ।

शवयात्रापछि दुर्घटनामा मृत्यू भएका कोटदेवल गाउँका ९ जनाको सदरमुकाम नजिकको सेती नदी किनार धौलाबगरमा सामुहिक अन्त्येष्टि गरिएको हो । शव यात्रामा आफन्त र शुभचिन्तकको रुवाबासीले पुरै गाउँ शोकमग्न बन्यो । जिप चालक सुरेन्द्र थापाको भने जिन्नाडिगाड र सेतीको दोभानमा अन्त्येष्टि गरिएको छ ।

जिप दुर्घटनामा मृत्यु भएका एकै परिवारका बुबा कलक खड्का र आमा जुनधारा खड्कालाइ छोरा सन्देश खड्काले दागबत्ती दिए भने भाइ सरोज खड्का र बिपना खड्काको शव खाल्डोमा गाडिएको छ ।

५० वर्षीया घौलीदेवी खड्का र छोरा हिक्मत खड्कालाई धौलीका श्रीमानले दागबत्ती दिए । मृतक जुना खड्कालाई उनका छोराले दागबत्ती दिएका थिए ।  रनाडा गाउँकी लक्ष्मी द्धाल र भक्त द्धालको पनि आफन्तहरुले दागबत्ती दिएर दाहसंस्कार गरेका थिए ।

मष्टा गाउँपालिकाले आज गाउँपालिकाभित्र सार्वजनिक बिदा दिएको छ । मृतक परिवारलाई क्षतिपूर्तिबापत जिप धनीले मृतकका परिवारलाई जनही तीन लाख रुपैयाँ दिने सहमति भएपछि आज सबैको अन्त्येष्टि गरिएको हो ।

जिप सोमबार दुर्घटना भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार