डोटी । सामाजिक कुरितीको रुपमा रहेको छाउपडी प्रथाका विरुद्ध स्थानीय सरकारले राम्रो काम गरेको छ । छाउपडी प्रथालाई न्यूनिकरण गर्ने उदेश्यले डोटीको पूर्वीचौकी गाउँपालिकाले छाउ नबार्ने महिलालाई पुरस्कारको व्यवस्था गरेर राम्रो काम गरेको हाे ।
छाउपडी प्रथा अन्त्यका नाममा संघ संस्थाले वर्षेनी लाखौं रकम खर्च गरे पनि अझै धेरै महिला छाउ बार्न बाध्य छन् । धार्मिक मान्यताका कारण उनीहरु छाउ भएका बेला घर भन्दा टाढाँ बस्दै आएका छन् ।
अहिले पनि वर्षेनी छाउपडी प्रथाका कारण विभिन्न हिंसा, बलात्कार र मृत्यु सम्म भएका खबरहरु सुनिनमा आउछन् । यस्ता खालका समस्याबाट महिलालाई छुट्कारा दिन स्थानीय तह सक्रिय रुपमा लागिरहेका छन् ।
छाउ भएका बेला घरभित्रै परिवारसँगै बस्ने महिलालाई गाउँपालिकाले तीन हजारदेखि पाँच हजार पुरस्कार दिने नीति पारित गरेको छ ।
त्यसका साथै गाउँपालिकाले छाउ बार्ने महिलालाई गाउँपालिकाबाट प्रदान हुने मृत्यु दर्ता, जन्मदर्ता, सामाजिक सुरक्षाभत्ता, विवाह दर्तालगायतका सेवासुविधा नदिने घोषणा गरेको छ।
जिल्लामा परम्पराबादी सोंच र संस्कारले गर्दा यो प्रथा न्यूनिकरणमा समस्या भइरहेको छ । अहिले पनि त्यहाँका महिलाहरु छाउ भएपछि गोठमा बस्ने चलन कायमै रहेको छ । यो प्रथालाई न्यूनिकरणका लागि सहयोग पुर्याउने उदेश्यले पुरस्कार दिने योजना ल्याएको गाउँपालिकाले जनाएको छ ।











