काठमाडौं । शहरी विकास राज्यमन्त्रीका एक सल्लाहकारले किशोरीलाई बन्धक बनाएर बलात्कार गरेको घटना बाहिर आएको छ ।
राज्यमन्त्री रामवीर मानन्धरका आर्थिक मामिला सल्लाहकार ५२ बर्षिय अमृतकुमार घलेले सिन्धुली घर भएकी १७ बर्षिय एक किशोरीलाई ४ दिनसम्म बन्धक बनाएर बलात्कार गरेको घटना बाहिर आएको हो ।
उक्त अभियोगमा घलेलाई प्रहरीले पक्राउ गरी अनुसंन्धान गरिरहेको काठमाडौं प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।
नायब उपरीक्षक बोगटीका अनुसार सिन्धुलीबाट काठमाडौं आउने क्रममा काभ्रेको बनेपामा सडक किनारमा बस कुरिरहेकी किशोरीलाई घलेले मोटरसाइकलमा लिफ्ट दिएका थिए ।
घटना माघ २७ गतेको भएपनि विभिन्न अनुसंन्धानगरी घलेलाई प्रहरीले फागुन १ गते पक्राउ गरेको थियो ।
घलेले किशोरीलाई टोखास्थित एक घरको फ्ल्याटमा बन्धक बनाएर ४ दिनसम्म बलात्कार गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
उनलाई अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी अन्तर्गत जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको काठमाडौं नायब उपरीक्षक बोगटीले बताए ।
फ्ल्याट भाडामा लिएर एक्लै बस्दै आएका घलेका परिवार अमेरिकामा बस्दै आएका छन् ।
घलेले अमेरिका पठाइदिने प्रलोभन देखाएर पटक–पटक बलात्कार गरेको पीडित किशोरीले प्रहरीसमक्ष बयान दिएकी छन् ।













