
काठमाडौं । बेलायतकी स्वास्थ्यमन्त्रीलाई नै कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्यमन्त्री नादिन डोरिसलाई कोरोनाभाइरसको संक्रमण भएको बेलायतीसंचारमाध्यमहरुले जनाएका छन् ।
कन्जरभेटिभ पार्टीकी सांसद्समेत रहेकी स्वास्थ्यमन्त्री डोरिस स्वयंले पनि आफूलाई कोरोनाभाइरस पुष्टि भएको बताएकी हुन् ।
६२ वर्षीया मन्त्री डोरिसलाई संक्रमणपछि उनलाई उनकै घरको आइसोलेसनमा राखिएको बीबीसी जनाएको छ ।
डोरिस कोरोनाभाइरसको संक्रमण भेटिने पहिलो बेलायती सांसद् हुन् ।
कोरोना संक्रमणका कारण बेलायतमा अहिलेसम्म ६ जनाको मृत्यु भइसकेको छ भने ३ सय ८२ जनामा कोरोनाको लक्षण देखिएको छ ।
चीनको वुहानमा पहिलो पटक देखिएको कोरोना भाइरस अहिले विश्वव्यापीरुपमा फैलिएर हजारौंको ज्यान लिइसकेको छ ।
चिनियां संचारमाध्यमहरुका अनुसार चीनमा कोरोना भाइरसको संक्रमण बिस्तारै नियन्त्रणउन्मुख रहेको छ । त्यहाँ सुरुको तुलनामा अहिले मृत्यु र संक्रमण दर घटेको बताइएको छ ।






