बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिका–९ पोरखे लेकमा स्थापना गरिएको कोरोना हेल्थ डेक्सको ब्यवस्थापन गरिएको छ । अनमोलपोस्टले बैशाख ९ गते “कोरोना चेकजाँच डेक्सको हरिविजोगः ज्वरो नाप्ने थर्मोमिटर छैन, बस्ने पाल हावाले उडायो” शिर्षकमा समाचार प्रकाशन गरेपछि बुढीनन्दा नगरपालिकाले उक्त हेल्थ डेक्सको ब्यवस्थापन गरेको हो ।
चैत २४ गते कोरोना चेकजाँचका लागि डेक्स स्थापना गरिएको भएपनि डेक्समा ज्वरो नाप्ने थर्मोमिटरदेखि त्यहाँ कार्यरत स्वास्थ्यकर्मीलाई सामान्य आधारभुत स्वास्थ्य सामाग्रीहरु पनि थिएनन् ।
डेक्स स्थापनाको सुरुवातमा केहि सेनिटाइजर, मास्क दिइएको भएपनि त्यो सकिएपछि स्वास्थ्यकर्मीलाई चेकजाँचमा समस्या भइरहेको थियो । अँगाउपानी आधारभूत स्वास्थ्य इकाईबाट थर्मोमिटर लगेर काम चलाएको भएपनि त्यो बिग्रिएपछि नाका भएर आवातजावत गर्नेहरुलाई टाढैबाट सोधपुछ गरेर पठाउने गरिएको हेल्थ डेक्समा कार्यरत स्वास्थ्य इकाईका प्रमुख अहेव प्रेम बहादुर भण्डारीले अनमोलपोस्टलाई बताएका थिए ।
उक्त हेल्थ डेक्सको समस्याबारे समाचार आएपछि अहिले नगरपालिका र स्थानिय तहका जनप्रतिनिधीद्धारा नयाँ ब्यबस्थापन भएको छ ।
‘पहिले खुल्ला आकाशमा पाल टाँगिएको थियो अहेव भण्डारीले भने, जोखिममा काम गर्दा डर पनि थियो । सामान्य ज्वरो नाप्ने थर्मोमिटर पनि थिएन, अहिले सबै ब्यवस्थापन गरिएको देख्दा खुशी लागेको छ ।’
भत्किएर जिर्ण भएको ढोका समेत नभएको घरमा पाल टाँगेर स्थापना गरिएको डेक्समा अहिले टिनको जस्ताले छाएर ढोका लगाई सुरक्षित बनाइएको छ । कोरोना चेकजाँचका लागि आवश्यक स्वास्थ्य सामग्रीहरू मास्क, सेनिटाइजर र ज्वरो नाप्न थर्मोगन उपलव्ध गराइएको छ ।
डेक्सको दयनिय अवस्थाबारे समाचार प्रकाशित भईसकेपछि त्यहाँका जनप्रतिनिधीले पनि चासो देखाउँदै नगरपालिकालाई ब्यवस्थापनका लागि दवाब दिएका थिए । व्यवस्थापनका लागि दवाब दिएपछि अहिले नगरपालिकाबाट हेल्थ डेक्सको आवश्यक सम्पुर्ण ब्यवस्थापन गरिएको बुढीनन्दा नगरपालिका–९ का वडाध्यक्ष खडक बहादुर बोहराले जानकारी दिए ।
आगामी दिनमा पनि आवश्यकता अनुसार डेक्स र त्यहाँ कार्यरत स्वास्थकर्मीका लागि थप ब्यवस्थापन गरिने वडाध्यक्ष बोहराले बताए ।
बुढीनन्दा र बडिमालिकानगरपालिका सीमामा पर्ने पोरखे लेक (काँध) बाटो भएर हुम्ला, जुम्ला, कालिकोट र मुगुका स्थानियहरु आवाजजावत गर्ने गर्छन ।
अन्य जिल्लाका मानिसहरु आवतजावत गर्ने भएकाले स्थानिय सरकारले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै उक्त ठाउँमा कोरोना चेकजाँचका लागि हेल्थ डेक्स स्थापना गरेको थियो ।
पहिले प्रकाशित यो समाचार पढ्नुहोस
कोरोना चेकजाँच डेक्सको हरिविजोग: ज्वरो नाप्ने थर्मोमिटर छैन, बस्ने पाल हावाले उडायो