काठमाडौं । धर्ना बसेर छोरीको न्याय माग्दै गर्दा आफ्नो होस नै गुमाएका निर्मला पन्तका बुवालाई उपचारका लागि काठमाडौं ल्याइदैछ ।
मानसिक सन्तुलन पुर्णरुपमा गुमाइसकेका निर्मलाका बुवा यज्ञराजको उपचारका लागि शनिवार राती धनगढीबाट एम्वुलेन्समा राखेर काठमाडौं पठाइएको कैलालीकी अधिकारकर्मी भुमि फुलाराले जानकारी दिइन ।
काठमाडौंमा उनको मानसिक अस्पतालमा उपचार हुने परिवारजनले जनाएका छन । एम्वुलेन्समा यज्ञराजकी श्रीमती दुर्गा, आफन्त र एक जना स्वास्थ्यकर्मी छन ।
यज्ञराजको ब्यवहार असामान्य भएपछि उनलाई निदाउने औषधी खुवाई एम्वुलेन्समा ल्याउन लागिएको निर्मलाकी आमा दुर्गादेवी पन्तले बताइन । निदाउने औषधीका कारण बाटोमा सहज भइरहेको दुर्गाको भनाइ छ ।
यज्ञराजलाई धनगढीबाट शनिवार नै जहाजमार्फत काठमाडौं ल्याउने तयारी भएपनि उनको असामान्य ब्यवहारका कारण सम्भव नभएपछि उनलाई राती नै एम्वुलेन्समार्फत प्रशासन र अधिकारकर्मीको रहोवरमा काठमाडौं पठाइएको थियो ।
उपचारका लागि काठमाडौं ल्याउन शनिवार दिउसो २ बजेदेखि नै उनलाई धनगढी बिमानस्थलमा राखिएको भनेपनि विमान कम्पनी र पाईलटले उनको अस्वभाविक ब्यवहार देखेपछि जोखिम हुने भन्दै जहाजमा राख्न मानेको थिएन । त्यसपछि उनलाई सेती अँचल अस्पतालमा लगिएको थियो ।
सेती अस्पतालमा यज्ञराजको हालबेहाल
धनगढी विमानस्थलबाट जहाजमा काठमाडौं ल्याउन नसकिएपछि यज्ञराजलाई शनिवार साँझ सेती अँचल अस्पताल धनगढीमा भर्ना गरियो । तर, उनको मानसिक अवस्था पुरै बिग्रिसकेकाले उनलाई अस्पताल कर्मचारी, सुरक्षकर्मी र आफन्तले सम्हालन धौ धौ पर्यो ।
अस्पतालमा उनले भाग्न खोज्ने, बेडमा बर्बराउने, गाली गर्ने लगायतका असमान्य ब्यवहार गरे, जसले सबैलाई सास्ती भयो । यज्ञराजलाई सम्झाउन, रोक्न खोज्दा अधिकारकर्मी शारदा चन्द सामान्य घाइते भईन ।
सम्झाउन र रोक्न खोज्दा यज्ञराजले उनलाई पछारेका थिए । यता उता भाग्न खोज्दा लडेपछि यज्ञराजको खुट्टा, घुँडामा समेत चोट लाग्यो ।
अस्पतालका स्वास्थ्यकर्मीले उनको सामान्य उपचारपछि तत्काल काठमाडौं लैजान सुझाव दियो ।
डक्टरहरुको सल्लाहअनुसार यज्ञराजलाई निदाउने औषधी खुवाएर राती ११ बजे धनगढीबाट एम्वुलेन्समा राखेर काठमाडौं पठाइयो ।
कंचनपुरकी १३ बर्षिय निर्मला पन्त आफ्नो साथीको घरमा होमवर्क गर्न गएका बेला उनको बलात्कारपछि हत्या भएको अवस्थामा गत साउन ११ गते उखुबारीमा शव भेटिएको थियो । साउन १० गते उनि साथीको घरमा गएकी थिइन ।
भिडियो हेर्नुहोस