लकडाउनमा तौल बढेर हैरान हुनुहुन्छ, यसरी राख्नुहोस् आफूलाई फिट

काठमाडौं । विश्वभरी फैलिएको कोरोना महामारीका कारण घरमै बस्नु परेको छ । कारोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउन घोषणा गरिएपछि  घरमै बस्नु परेको हो ।

काम गर्ने ठाउँ, विद्यालय बाहिर जाने ठाउँ सबै बन्द छन् । यो बेला घरमै बसेर काम गरेपनि हिड्डुल कम र खानकी धेरै भएर तौल बढेको पक्कै हुनसक्छ । तपाई तौल बढेर हैरान हुनुहुन्छ भने, तौललाई मेन्टेन गर्ने केही उपाएहरु पनि छन् ।

तपाईको मोटोपनलाई नियन्त्रण गर्ने प्रमुख कारण खानपान र अनुशासित जीवनशैली नै हो । यसका लागि तपाईले आफु सुत्ने, उठ्ने र खाने तालिकालाई सकेसम्म नियमित एकै खालको बनाउनु पर्दछ ।

करिब एक महिनासम्म तपाईले यो कुरालाई ध्यानमा राखेर फलो गर्नु भयो भने तपाईको तौल पक्कै नियन्त्रणमा आउने छ ।

सबैभन्दा पहिले खानपानको तालिका व्यवस्थित गर्ने । कुन समयमा के खाने र कति खाने भन्ने कुरा निर्धारण गर्नुपर्दछ । सकेसम्म दिनमा चार वा पाँच पटक खाने गरौं । धेरै पटक खाँदा थोरै थोरै खाइन्छ । यसले गर्दा खानेकुरा सजिलै पच्छ । बोसोको रुपमा जम्मा हुँदैन ।

खानामा दाल, भात, तरकारी सबै सामेल गरौं तर चिल्लो, मसलेदार, भुटेको, बोसोयुक्त खानेकुरा सेवन नगरौं । बजारमा पाइने जङ्कफुड, फास्टफुडजस्ता खाना बेवास्ता गरौं । गुलियो खानेकुरा, मिठाईबाट बचौं ।

सकेसम्म आफ्नै भान्सामा पाकेको स्वस्थ, तेलरहित खानेकुरा सेवन गरौं । अझ सम्भव हुन्छ भने, उसिनेको खानेकुरामा जोड दिनुपर्छ ।

हरेक छाकको खानामा सलाद, हरियो सागपातलाई महत्व दिनुहोस् । खानामा अन्नको भन्दा सलादको मात्रा बढी होस् । यसमा काँक्रा, गाजर, मुला, चुकन्दर हुन सक्छ । यसका साथै दिनमा एक पटक ताजा फलफूल सेवन गरौं ।

पर्याप्त ग्रिन टी सेवन गरौं । दिनभरमा चार वा पाँच गिलास ग्रिन टी पिउनुहोस् । दिनभरि कम्तीमा तीन लिटर पानी पिउनुपर्छ । ताजा जुस, सर्वत पनि सेवन गर्न सकिन्छ। शरीरमा ठोस खानेकुराभन्दा पानीको मात्रा बढी हुनुपर्छ।

उठ्ने र सुत्ने तालिका निर्धारण गरौं । सम्भव भएसम्म राति चाँडै सुतौं, आठ वा नौ बजेभित्र । शरीरलाई स्वस्थ राख्न पर्याप्त निन्द्रा लिनुपर्छ । सात वा आठ घण्टा मस्त निदाउनुपर्छ । बिहान चाँडै उठौं । उठ्नसाथ मनतातो पानी पिउनुहोस् ।

बिहान व्यायाम गर्ने । अहिलेको समयमा मर्निङवाक जान नसकेपछि कम्तीमा ४५ मिनेट व्यायाम गरौं । योग, ध्यान गर्न सके अझ राम्रो हुन्छ । दिनभर एकै ठाउँमा बसिरहने नगरौं । हिँडौं, लिफ्टको ठाउँमा भर्‍याङ उक्लिने गरौं ।

यसरी तपाईले हामीले भनेका कुरालाई फलो गर्दै जानु भयो भने तपाईको तौल समयमै नियन्त्रणमा आउने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार