मुख्यमन्त्री राईले आँपको बिरुवा रोपेर जन्मदिन मनाए, निरन्तरता दिने घोषणा


विराटनगर । नेपाली समाजमा पनि जन्मदिनलाई विशेषरुपमा मनाउने परम्परा बसिसकेको छ । प्रधानमन्त्री, मन्त्री, सांसद, नेता, कलाकारदेखि सर्वसाधारण नागरिकसम्मले आफ्नो जन्मदिनमा निकै तडकभडक गर्ने गरेको देखिन्छ ।

जन्मदिनमा केक काट्नेदेखि होटल र रेष्टुरेन्टमा पार्टी दिने चलन पनि नेपाली समाजमा बसिसकेको पाइन्छ । प्रधानमन्त्री केपी ओलीले त आफ्नो जन्मदिनमा नेपालको नक्सा बनाएर केक काटेर भव्यगरी मनाएका थिए । जुन निकै चर्चा हुँदै विवादित पनि बन्न पुगेको थियो ।

तर, प्रधानमन्त्री ओली निकट प्रदेश नम्बर १ का मुख्मन्त्री शेरधन राईले भने आफ्नो जन्मदिन फरक तरीकाले मनाएका छन् ।
उनले बिहीबार परेको आफ्नो जन्मदिनमा आँपको बिरुवा रोपेर मनाएका हुन ।

आफुले अहिलेसम्म बिशेषरुपमा बर्थडे सेलेब्रेसन नगरेको र गर्ने चलन पनि नभएको जानकारी दिदैं उनले शुभचिन्तकको शुभकामना र आर्शिवाद भने ग्रहण गर्ने गरेको बताएका छन् ।

मुख्यमन्त्री राईले यस आर्थिक बर्षदेखि प्रदेस सरकारले आगामी दशकलाई फलफुल दशक बनाई प्रदेसलाई फलफुलको राजधानी बनाउने घोषणा गरेको र सोहिअनुसार निती तथा कार्यक्रम र बजेट पनि छुट्याएको बताएका छन् । फलफुलको बिरुवा रोपेर मनाइएको जन्मदिनलाई आगामी बर्षहरुमा पनि निरन्तरता दिने बाचा गरेका छन् । मुख्यमन्त्री राईले आफ्नो जन्मदिन फुलफुलको बिरुवा रोपेर मनाएकोप्रती सबैले प्रशंसा गर्दै बधाई दिइरहेका छन् ।

“बर्थडे सेलेब्रेसन गर्ने चलन गरेकाे छैन । तर मैले हजाराैं लाखाैं आर्शीबाद र शुभकामना लिने ग्रहण गर्ने गरेकाे छु, मलाई शुभकामना लगातार बिभिन्न माध्यमबाट प्राप्त भइरहेकाे छ । म सबैलाई एकमुष्ट रुपमा हार्दिक हार्दिक धन्यबाद ब्यक्त गर्दछु ! यसपटकबाट मैले नयाँ थालनी गरेकाे छु, अर्थात प्रदेश सरकारले आगामी दशकलाई फलफुल दशक बनाई प्रदेशलाई फलफुलकाे राजधानी बनाउने घाेषणा यसपटककाे आफ्नाे निती, कार्यक्रम र बजेटबाट गरेकाे परिप्रेक्ष्यमा मैले मेराे जन्म दिनकाे अवसर पारेर एउटा मिठाे जातकाे आँपकाे बिरुवा राेपेर शुरुवात गरेकाे छु । आगामी बर्षहरुमा यस थालनीलाई निरन्तरता दिने बाचा सहित पुन सबैमा हार्दिक आभार एबं धन्यबाद प्रकट गर्दछु,”  उनले सामाजिक संजालमा पोष्ट गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार