“फर्की क्वै पनि आउँदैन र सधैं पर्खन्न कोही पनि
कालो आदि र अन्त्य खाली बिचमा झिल्का दिने जीवनी
एक्लै क्वै दिन निस्किएँ म त भने कोही नखोजुन यहाँ
एक्लै अल्पिनु सृष्टिको चलन रे कोही नरोउन यहाँ ।
मर्ने मानिस फर्कँदैन भेटिन्न भेटिन्न रे
पर्दा लाग्दछ जो महामरणको उल्टिन्न उल्टिन्न रे ।।”
लमजुङ्ग जिल्लाको पुस्तुन गाउँमा जन्मनुभएका बहुमुखी प्रतिभाका धनी स्वच्छन्दतावादी परिष्कारवादी भावधाराका प्रकृतिप्रेमि र मानिसको जीवनसँग गाँसिएका दुखसुख लगायतका विषयमा जीवनको उत्तर्राधसम्म पनि निरन्तर कलम चलाउँदै आउनुभएका एक कुशल नेपाली साहित्यकार र कवि माधवप्रसाद घिमिरेको मंगलबार साँझ भएको असामयिक निधनले हामी सम्पूर्ण मर्माहत भएका छौं ।
“बोक्रा फेरिकन समयले घाउ सारा पुरिन्छन
मौरी आइ मधुपवनमा सुन्तलामा धुरिन्छन् ।
कस्तुरीले गिरिवन घुमी खोज्छ आफ्नो सुगन्ध
हुन्नन कैल्यै कुसुम वनमा प्रीतीका गीत बन्द ।।”
राष्ट्रकवि माधवप्रसाद घिमिरेद्धारा लिखित वैशाख कवितामा उल्लेखित माथिका पंक्तिहरुको आज मलाई निकै नै याद आइरहेको छ । उक्त कविताका पंक्तिहरु आज मेरो मानसपटलमा फनफनी घुमिरहेका छन्, जुन पक्तिहरुबाट म असाध्यै प्रभावित भएको छु ।
यतिमात्र कहाँ होर !
“नेपाली हामी रहौंला कहाँ नेपालै नरहे
उचाई हाम्रे चुलिन्छ कहाँ हिमालै नरहे ।
तराई हाम्रो सुनको टुक्रा हिमाल हिराको
माटो र पानी पहिलो धन धर्तिका छोराको ।।”
देशभक्तिको भावनाले बुनिएका माथिका पंक्तिहरु पनि अत्यन्तै सान्दर्भिक छन् । देशप्रेमको अगाध मायासंगै सिर्जित उक्त पंक्तिहरु पनि उत्तिकै मर्मस्पर्शी छन् । नेपाल, नेपाली र माटोसंग अगाध माया प्रेम गाँसेर लेखिएका सिर्जनाका फूलवारीमा पनि आज मौनता छाएको छ । यी र यस्तै अनेकौं सिर्जनाहरुको आज मुल सुकेको छ । खडेरी पर्ने भएको छ ।
समाजमा दैनिक रुपमा घटेका घटनाहरुलाई यथार्थ तवरले साहित्यको माध्यमबाट प्रवाह गर्ने र प्रकृतिमा रम्दै त्यहाँ भेटिने सुगन्धहरुको जस्ताको त्यस्तै चित्रण गर्ने कविवर माधवप्रसाद घिमिरे अब हामी माझ रहनुभएन । वहाँको निधनले नेपाली साहित्यमा पुग्न गएको अपुरणीय क्षती अब कहाँबाट पूर्ण होला र ? तर पनि सहनुको कुनै विकल्प नहुने रहेछ । शाश्वत सत्य मानिने प्राकृतिक नियमको सामु हामी सबै मौन बस्नु पर्ने रहेछ । वहाँद्धारा सम्प्रेषित भावनाहरुलाई अंगीकार गरी वहाँको मार्ग पछ्याउनु नै वहाँप्रति सच्चा श्रद्धाञ्जली हुनेछ जस्तो लाग्छ मलाइ ।
नेपाली साहित्य जगतमा अतुलनीय योगदान पुरयाएवापत राष्ट्रकविको उपाधी हासिल गर्नुभएका र अन्य विविध पुरस्कारहरुद्धारा पुरस्कृत माधवप्रसाद घिमिरेले गौरी, मालती मङगले, हिमाल पारी हिमाल वारी, अश्वथामा, राजेश्वरी, शकुंन्तला, नवमन्जरी, राष्ट्रनिर्माता, किन्नर–किन्नरी, वैशाख, धर्तिमाता, घामपानी, बालालहरी, आफ्नो बाँसुरी आफ्नै गीत जस्ता दर्जनौं काव्य कृतिहरु लेखेर नेपाली साहित्यमा पुर्याउनुभएको योगदान अनन्तकालसम्म अविश्मरणीय रहिरहने छ । आज वहाँ हामी माझ नरहेपनि वहाँले नेपाली साहित्यमा पुर्याएको देनले वहाँ सदैव अमर रहिरहनुहुनेछ । हामी सबैको मनमुटुमा रहिरहनुहुनेछ । वहाँका कृतिद्धारा सम्प्रेषित मार्गदर्शन, भाव र ज्ञान हाम्रो लागि सदैव अनुकरणीय रहिरहने छन् । काव्य मार्फत जीजिविषाको खोजी गर्ने राष्ट्रप्रति अन्तर हृदयबाट ममता प्रकट गर्ने र सुखी र खुशी समाजका लागि हामी सबैलाई घचघच्याउने भावना बोेकेका काव्यको महानायकको महाप्रस्थान भएपनि नेपाल र नेपालीले जुग–जुगसम्म सम्झिरहने छन् ।
साहित्यको विद्यार्थीको नाताले आज मलाइ नेपाली साहित्य जगतमा नै एक खालको रिक्तता छाएको अनुभूति भएको छ । काव्यको सतिसाल ढलेको छ । नेपाली साहित्यमा एक युगको अन्त्य भएको छ । आज समग्र नेपाली साहित्य जगत नै शोकमग्न भएको छ । देशप्रेमको भावनाद्धारा ओतप्रेरित वहाँका कृतिहरुले वहाँलाई सदैव जीवन्त राख्नेछन् । यस घडीमा समस्त शोकाकुल साहित्यप्रेमी व्यक्तित्वहरु, वहाँका परिवारजन, इष्टमित्र र नेपाली दाजुभाई दिदीबैनीहरुमा धैर्यधारण गर्ने शक्ति ईश्वरले प्रदान गर्नुहुनेछ र वहाँको आत्माको चिरशान्तिको कामना गर्दै वहाँको स्वर्गमा वाँस होस् भन्ने कामना सहित भावपूर्ण श्रदाञ्जली अर्पण गर्दछु ।
-खगेन्द्र प्रसाद पाठक
वालिङ्ग – १३, उदियाचौर, स्याङ्गजा ।