यतिबेला देशैभरी जाडो बढेको छ । जाडोको बेला स्वास्थ्यमा विभिन्न समस्याहरु देखा पर्दछन् । जाडोमा न्यानो लुगाका साथै घाम पनि ताप्नु पर्ने हुन्छ । जति जति वायमुण्डल चिसिदै जान्छ, घाम प्यारो लाग्न थाल्छ । तर कतिपयलाई घाम ताप्ने फुर्सद हुँदैन । छालाको सौन्दर्यलाई असर गर्छ भन्ने भयले पनि घाममा बस्न रुचाउँदैनन ।
त्यसो त पछिल्लो समय घामको किरण क्यान्सरको कारण बन्न सक्ने भयले पनि धेरैले घाम ताप्न छोडिसकेका छन् । यस्ता विभिन्न कारणले हाम्रो जनजीवनबाट घाम टाढा हुँदै गएको छ । तर यो बेला ‘खाना, पानी, वायु जस्तै शरीरका लागि आवश्यक चिज घाम पनि हो । घामबाट शरीरले भिटामिन डि प्राप्त गर्छ । अतः भिटामिन डि प्राप्त गर्नका लागि बिहान वा साँझको घाम उपयुक्त हुने चिकित्सकको सुझाव छ ।
भिटामिन डिको प्रभावकारी र प्राकृतिक स्रोत हो, घाम । जसै जाडो याम सुरु हुन्छ, घामको अभावमा धेरैलाई भिटामिन डिको अभाव हुन्छ ।
पछिल्लो समय हामी नेपालीलाई भिटामिन डिको कमी भइरहेको छ । भिटामिन डिको कमी हाम्रो शरीरका लागि खतरनाक हुन्छ । किनभने यो त्यही भिटामिन हो, जसले हाम्रो शरीरमा क्याल्शियम अवशोषित गर्न मद्दत गर्छ । भिटामिन डिको अभावले उच्च रक्तचाप र मुटुको रोग थप जटिल हुनसक्छ ।
शरीरमा पर्याप्त भिटामिन डि पुगेन भने बाथ रोग र टाइप १ मधुमेह आदिको खतरा हुन्छ । यदि बच्चाको रगतमा भिटामिन डिको मात्रा धेरै कम भएमा यस्तो बच्चालाई एनिमिया हुने आशंका रहन्छ । त्यसैले बच्चालाई भिटामिन डि प्राप्त हुने खानेकुरा र घामको सम्पर्कमा राख्नुपर्छ । घाम बाहेक भिटामिन डि प्राप्त हुने खानेकुरा माछा, दुध,अण्डा, पनिर, च्याउ र सुन्तला आदि हुन । चिसोको मौसममा यस्ता खानेकुरा खाने गर्नु पर्दछ । यसले हाम्रो स्वास्थ्यलाई स्वस्थ राख्नमा मद्दत गर्दछन् ।