काठमाडौँ । भक्तपुरमा अन्तर्राष्ट्रिय रङ्गशाला बन्ने भएको छ । खेलकूद क्षेत्रको विकास र विस्तारलाई उच्च प्राथमिकता दिँदै बुधबारसिंहदरवारस्थित युवा तथा खेलकूद मन्त्रालयमा भएको छलफलपछि सूर्यविनायक नगरपालिकाको ८ र ९ नं वडाको तौडल र महतगाउँमा रङ्गशाला निर्माण गर्ने जनप्रतिनिधि र मन्त्रालयबीच नीतिगत सहमति भएपछि रंगशाला निर्माण हुने भएको हो ।
नेपाल सरकारले आगामी तीन वर्षभित्रमा सम्पन्न गर्ने उद्देश्यका साथ रङ्गशाला निर्माण गरिने बताएको छ ।
अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिने उक्त रङ्गशालाको लागि एक हजारदेखि आवश्यकताअनुसार एक हजार ५०० रोपनीसम्मको जग्गा मन्त्रालयको अनुरोधमा नगरपालिकाले व्यवस्था गर्ने भएको छ ।
अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणको आवश्यक सबै कानूनी तथा प्राविधिक कार्य सम्पन्न गरी अबको १५ दिनभित्रमा डिपिआरको प्रक्रियामा जाने समेत सहमति भएको युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले जानकारी दिए ।
कार्यक्रममा नगरपालिकाका प्रमुख वाशुदेव थापाले भक्तपुरमा भएका इँटा उद्योगका कारण वातावरण प्रदुषण भएकाले त्यसतर्फ सबैको ध्यान आर्कषण गर्दै रंगशाला निर्माणमा सबैको सहयोगको अपेक्षा गरे ।