
काठमाडौं । सांसद तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाले बझाङकी १२ बर्षीय सम्झना कामीका हत्यारालाई हदैसम्मको कारवाही हुनुपर्ने माग गरेकी छन् ।
आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै सांसद संग्रौलाले जिल्लाको मष्टा गाउँपालिका–२ की उनको गाउँकै मन्दिरमा सम्झनाको हत्या गरिएको घटना अमानविय र निन्दनीय भएको बताएकी छन्।
“प्रारम्भिक विवरणअनुसार सम्झनाको बलात्कार गरी हत्या गर्ने जघन्य अपराधमा संलग्न जो कोही भएपनि तत्काल पक्राउ गरी हदैसम्मको कारवाही गर्न सरकारसँग माग गर्दछु”, उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
गएका केही महिनायता देशभरि नै दलित समुदायविरुद्ध आक्रमण र हिंसाका घटनाहरु बढ्दै गएको समेत उनको भनाइ छ ।
रुकुम पश्चिममा नवराज विकलगायतका ६ जना युवाहरुको नृशंस हत्यापछि मधेशमा पछिल्लो समय दलित समुदायविरुद्ध हत्या र हिंसाका घटना भइरहेको प्रति उनले दुख ब्यक्त गर्दै दोषीमाथि हदैसम्मको कारवाहीको माग गरीन् ।
निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको देशव्यापी विरोध हुँदा पनि अहिलेसम्म सरकारले दोषी पत्ता लगाउन नसकेको उनको भनाइ छ ।
“नेपालको संविधान २०७२ ले नागरिकको जीउधनको सुरक्षा राज्यको प्रमुख दायित्व भनेको छ, तर कोरोना महामारी नियन्त्रण होस् वा रोग र भोकसँग जुधिरहेका जनतालाई राहत दिने काम होस् वा शान्ति सुरक्षा कायम गर्न नेकपा सरकार असफल हुँदै गएको छ। यो सरकारबाट सुशासनको अपेक्षा गर्नु वैशाख र जेष्ठको मध्याह्न गर्मीमा शीतलताको अपेक्षा गर्नु जत्तिकै हो”, सङ्गौलाले विज्ञप्तिमा उल्लेख गरेकी छन् ।
यो पनि पढ्नुहोस
बझाङकी सम्झनाको पोस्टमार्टम रिपोर्टले भन्यो, ‘यौनांगमा घाउ चोट, बलात्कारपछि हत्या पुष्टि’










