काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई साउन १ गतेबाट सामाजिक सुरक्षा तथा सञ्चय कोषमा समेट्न सरकारी कार्यादलले सिफारिस गरेको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई सामाजिक सुरक्षा कोषमा समेट्नेबारे अध्ययन गर्न गठित कार्यदलले मंगलबार श्रममन्त्री गोकर्ण विष्टलाई प्रतिवेदन बुझाएको छ । मन्त्रालयका सचिव महेद दाहालको नेतृत्वमा गठित कार्यदलले पाँच महिना लगाएर उक्त प्रतिवेदन तयार पारेको हो ।
यो कार्ययोजना २०७६ साउन १ गतेबाट लागु गरिने जानकारी गराइएको छ । अहिले करिब ३५ लाख नेपालीहरु विभिन्न देशमा श्रम गरिरहेका छन् । १६ वटा मुद्धा समेटिएको प्रतिवेदनले वैदेशिक रोजगारीमा जाने र गएका नेपालीहरुको सामाजिक सुरक्षा र सञ्चय कोष स्थापनका लागि ठुलो सहयोग पुग्ने छ ।
कार्यदलका अनुसार वैदेशिक रोजगारीमा गएका, विदेशमा ब्यापार गर्ने र गैर आवासीय नेपालीलाई समेट्न सकिन्छ । योजना लागू भएपछि विदेश जानेको हकमा श्रम स्वीकृति प्रदान गर्दा र गइसकेकाहरुको हकमा नवीकरण गर्दा सूचीकृत गर्नुपर्नेछ ।
योजनामा सहभागी भएका वैदेशिक रोजगारीमा गएका व्यक्तिले वार्षिक न्यूनतम २४ हजार र अधिकतम ३ लाखसम्म योगदान गर्न सक्ने कार्यदलको सिफारिस छ । यस्तो रकम कर्मचारी सञ्चय कोषले विप्रेषण भित्र्याउने बैक तथा वित्तिय कम्पनीसँग मिलेर रकम संकलन गर्नेछ ।
कार्यदलले वैदेशिक रोजगारीमा रहेका सबैलाई समेट्न क्रमशः अनिवार्य गर्न सिफारिस गरेको छ । यसका लागि योगदानको रकम सम्बधित रोजगारदाताले जम्मा गरिदिनुपर्ने व्यवस्था गर्ने र सरकारीस्तरमा वार्ता गरी श्रम सम्झौतामा नै सञ्चय कोष र सामाजिक सुरक्षा कोया योजना समावेश गर्ने पनि कार्यदलको सिफारिस छ ।
कोषमा जम्मा भएको रकम योगदानकर्ता ६० वर्ष पुगेपछि वा शारीरिक तथा मानसिक रुपमा अशक्त भएमा वा रोजगारीबाट फर्किएपछि वा नियमित तीन वर्षसम्म योगदान नगरेमा एकमुष्ट पाउने वा निवृत्तिभरणका रुपमा दिन सकिने कार्यदलको सिफारिस छ ।
वैदेशिक राजगारीमा गएका नेपालीलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले वैदेशिक राजगारीमा गएका नपालीलाई सामाजिक सुरक्षाको दायरामा ल्याउनका लागि यो योजना सुरु गरिएको बताएका छन् । आफुले साउनबाटै कोषमा वैदेशिक रोजगारीमा गएकाहरूको रकम जम्मा गर्न सुरू गर्ने गरी तयारी गरिरहेको समेत बताए ।
मन्त्री विष्टले वैदेशिक रोजगारीमा गएका आधारभूत तहका जनताको जीवन स्तर माथि उठाउन यो योजनाले महत्वपूर्ण भूमिका खेल्ने पनि दाबी गरेका छन् ।