
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेमा दोस्रो तहका भनिएका नेताहरुले धोका दिएको बताएका छन्। शनिवार पेशागत महासंघ नेपाल, बाग्मती प्रदेशको जिल्लास्तरीय भेलामा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले एमालेका भिम रावल, घनश्याम भुसाल, योगेश भट्टराई लगायतका युवा नेताहरु तर्फ संकेत गर्दै पहिला आफुलाई नयां पार्टी खोल्न दवाब दिएको र पछि धोका दिएको बताए ।
‘आजै पार्टी फुटाऔं, भोलि पार्टी फुटाऔं भन्ने नेताहरुको पोजिसन परिर्वतन भएको देख्दा अचम्म लाग्यो, ‘मलाई घचेटेर अगाडि बढ भने, पछाडि हेर्छु त कोही पनि छैन’, अध्यक्ष नेपालले भने ।
सर्वोच्च अदालतको फैसलाले नेकपा खारेज भएपछि आफूहरु विद्रोही बनेर एमालेमै बस्ने तर तत्काल नयां पार्टी नखोल्ने मनसाय भएपनि त्यसबेला दोस्रो पुस्ताका नेताहरुले तत्काल नयां पार्टी खोल्न दबाव दिने गरेको उनले सम्झिए ।
आफूलाई छोडेर एमाले मै बसेका युवा नेताहरुले केपी ओलीलाई सरकारबाट फाल्न बलियो मोर्चा बनाएर अघि बढ्न र ‘प्रधानमन्त्री जो सुकै भएपनि हुन्छ’ भन्ने गरेको समेत अध्यक्ष नेपालले कार्यक्रममा सुनाए ।
‘केपी ओली प्रतिगमनका बाहक हुन्, दक्षिणपन्थी भासमा भासिँए । विदेशीसामू लम्पसार परे। त्यसैले जसरी पनि फाल्नुपर्छ, भनेर दोस्रो पुस्ताका नेताहरु भन्थे, अहिले उतै लागे’, उनले भने ।
आफ्नो नयां पार्टीप्रति जिल्ला जिल्लामा कार्यकर्ताको उत्साह, साथ र सर्मथन देखेपछि फेरी पनि विशाल कम्युनिष्ट पार्टी निर्माण गर्न सकिने हौसला मिलेको अध्यक्ष नेपालले बताए ।










