
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मतदाताहरूलाई हँसिया हथौडा, रुख र कलमलाई सहज रुपमा लिन आग्रह गरेका छन् । शुक्रबार काठमाडौमा भएको गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गठबन्धनका उम्मेदवारका चुनाव चिन्हमा सहज रुपमा मतदान गर्न मतदाताहरूलाई आग्रह गरेका हुन् ।
गठबन्धन अहिलेको आवश्यकता भएको भन्दै उनले हँसिया हथौडा र चारतारे झण्डा सँगै नफहराएको भए संघीय लोकतान्त्रिक गणतन्त्र सम्भव नहुने र अब रुख वालाले हँसिया हथौडा र हँसिया हथौडा वालाले रुखमा छाप हान्नै पर्ने बताए । उनले यो नै लोकतन्त्र, प्रगतिको हितमा हुने पनि बताए ।

‘रुख वालाले बडो खुसी र गर्वसाथ हँसिया हथौडामा छाप लगाउन सक्नैपर्छ । हसिया हथौडावालाले गर्वका साथ रुखमा छाप हान्न सक्नैपर्छ’, प्रचण्डले भने । उनले केही मानिस मर्न तयार रुखबाहेक भोट हाल्न नजाने र कतिपय मर्न तयार हँसिया हथौडाबाहेक अन्त भोट हाल्दिन भन्ने लकिरको फकिरजस्तो भएर मुलुकको प्रगति हुन नसक्ने बताए ।
उनले विगतमा काँग्रेस र कम्युनिस्टबीच पानी बारबार गर्दा देशले केही नपाएको भन्दै अहिलेको गठबन्धन संविधान र गणतन्त्रका रक्षाका निम्ति भएको बताए । उनले गठबन्धन अहिले पनि एकढिक्का रहेको भन्दै धेरै परसम्म लानुपर्ने आवश्यकता रहेको जिकिर गरे ।









