
काठमाडौं । नागरिकतामा अपमानजनक नाम र थर राखिएकोबारे चर्को विरोध भएपछि गृहमन्त्रालयले त्यस्ता नामहरु सच्चाउन निर्देशन दिएको छ । गृहले आज एक विज्ञप्ती जारी गर्दै नागरिकतामा अपमानजनक नाम र थर प्रयोग गरेर नागरिकता प्रमाणपत्र जारी नगरिने बताएको हो।
जारी विज्ञप्तीमा भनिएको छ, ‘अपमनजनम शब्द प्रयोग गरी नागरिकतामा व्यक्तीको नाम र थर जनिने गरी नागरिकत प्रमण पत्र जारी नगर्ने । त्यसरी अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकता प्रमाणपत्रमा सम्न्धित व्यक्तिले सच्याउन माग गरेमा आवश्यक प्रकृया पूरा गरी सच्याउने व्यवस्था मिलाउने ।’
गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलद्धारा जारी व्यक्तीको नाम र थरमा अपमानजनक शब्द राखी नागरिकता प्रमाणपत्र जारी भएको विषयमा ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
नागरिकतामा कुकुर कामी, कुकुर्नी कमिनी, कुत्ता वादी, फ्याउरो वादी जस्ता अपमानजनक शब्द प्रयोग गरेर नागरिकता दिइएकोबारे चर्को विरोध भएपछि गृह मन्त्रालयले यस्तो विज्ञप्ती जारी गर्न वाध्य भएको हो । अपमानजनक शब्द प्रयोग गरेर दिइएका त्यस्ता नागरिकताबारे राष्ट्रिय सभामा आज चर्को आवाज उठाउँदै सांसद भुवनबहादुर सुनारले त्यस्ता नागरिकता सच्याउन गृह मन्त्रालयलाई अनरोध गरेका थिए । उनले त्यसरी अपमानजनक शब्द प्रयोग गरेर नागरिकता दिने कर्मचारीलाई समेत कारवाहीको माग गरेका छन् ।
हेर्नुहोस् गृह मन्त्रालयको विज्ञप्ती

यो पनि पढ्नुहोस
अपमानविरुद्ध संसदमा गर्जेको आवाजः कुकुर कामी र कुकुर्नी कमिनी लेख्ने हाकिमको हात किन नभाच्ने ?










