
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले वीरगञ्जस्थित कृषि औजार कारखानाको अध्ययन गर्न नेपाली वैज्ञानिक महावीर पुनसमक्ष प्रस्ताव गरेका छन् । अर्थमन्त्री शर्माले पुनलाई मन्त्रालयमा बोलाएर बन्द रहेको कृषि औजार कारखाना संचालनका लागि अध्यन गर्न प्रस्ताव गरेका हुन् ।
सरकारले कृषि औजार कारखाना सञ्चालनमा ल्याउने निर्णय गरेको जानकारी गराउँदै अर्थमन्त्री शर्माले उक्त कारखानानको अहिलेको अवस्था अध्ययन गर्न महाविरलाई प्रस्ताव गरेको अर्थमन्त्रालयले जनाएको छ । छलफलमा मन्त्री शर्माले बन्द रहेको सरकारको सम्पत्ती उक्त कारखानालाई औजार उत्पादन मात्रै नभई आविष्कार केन्द्रका रुपमा समेत विकास गर्ने लक्ष्य रहेको महाविरलाई सुनाएका थिए।
अर्थमन्त्री शर्माले राष्ट्रिय आविष्कार केन्द्रको सुझाव अनुसार सरकारले छिट्टै यो कारखानालाई पुनर्जीवन दिने बताए । २०२१ सालमा स्थापना भएको कृषि कारखाना २०५९ सालबाट पूर्ण रुपमा बन्द भएको हो । वीरगञ्जमा ९ बिघा क्षेत्रफलमा उक्त कारखाना रहेको छ ।
बन्द रहेको उक्त कारखानाबारे अध्यन र संचालनबारे मन्त्री शर्माको चासो र पहललाई आफुले सकारात्मक रुपमा लिएको पुनले बताएका छन् । सरकारको काममा आफ्नो पुर्ण सहयोग रहने उनले बताए ।










