
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले मन्त्रालयमा रहेको वैदेशिक रोजगारी सम्बन्धी गुनासो सुनुवाई कक्ष कल सेन्टरमा ‘श्रमिकसँग श्रम मन्त्री’ कार्यक्रमको सुरुवात गरेका छन् ।
आज पहिलो दिन उनले कल सेन्टरमा बसेर बिहान ११ बजेदेखि १२ बजेसम्म एक घण्टा फोनमार्फत प्रत्यक्ष श्रमिकहरुका गुनासा र जिज्ञासाहरु सुन्दै कार्यक्रमको सुरुवात गरेका हुन्। आजदेखि प्रत्येक आइतबार मन्त्री कुँवरले फोनमार्फत प्रत्यक्ष श्रमिकहरूको गुनासा सुन्ने र तिनका सामाधनका लागि पहल गर्ने उनको सचिवालयले जनाएको छ।
आज पहिलो दिन मन्त्री कुँवरसंग फोनमार्फत प्रत्यक्षरूपमा स्वदेश तथा विदेशमा रहेका श्रमिकहरुले आफ्ना गुनासा, जिज्ञासा, समस्या र सुझावहरु राखेका छन् । जसलाई मन्त्री कुँवरले संवोधन गर्ने बताएका छन् । मन्त्रालयको कल सेन्टरमा दैनिक २०० बढि गुनासाहरु आउने गरेको मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिए ।

श्रमिकसँग श्रम मन्त्री कार्यक्रममा भाग लिनका लागि नेपाल टेलिकमको टोल फ्रि नम्बर ११४१ र १६६००१५०००५, ल्यान्डलाइन नम्बर ०१५९७०००८ र ह्वाट्सएप, भाइबरमा ९८०१८०००१३ र इमो नम्बर ९८०१३०००३३मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ।
मन्त्री कुँवर काठमाडौं रहेका बेलामा मात्रै तोकिएको समयमा मन्त्रीसँग आफ्ना गुनासा, जिज्ञासा, समस्या र सुझावहरुमा कुरा गर्न सकिने समेत मन्त्रालयले जानाएको छ ।










